दलित को हुन् ?


नेपाली समाजमा जातीय विभेद र छुवाछुत भोग्दै आएका दलित समुदाय को हुन् ? कुन धर्म मान्ने मान्छे हुन् ? कि नास्तिक हुन् ? कुन–कुन जाति पर्छन् ? पहाडमा, मधेसमा, उपत्यका कहाँ–कहाँ छन् ? यी र यस्तै प्रश्नले दिमागमा धक्का दिइरहेको हुन सक्छ । धेरैमा अन्योल सिर्जना गरेको हुन सक्छ । दलित आन्दोलनमा एकताबद्ध हुन बाधा परेको हुन सक्छ । वास्तवमा दलित को हुन् ? यस विषयमा केही चर्चा गरौँ ।

भारतीय उप—महाद्वीपको आजको भारतमा करिव ३५ सय वर्षअघि वर्णव्यवस्थाको जग हालिएको थियो भन्ने मानिन्छ । हिन्दुको मूलग्रन्थ मध्ये सबैभन्दा पुरानो वेद ऋग्वेदको दशौँ मण्डलको पुरुष सुतमा ९० मा ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्र उल्लेख छ । कसैले त्यस विराट पुरुषको मुख ब्राम्ह्ण, पाखुरा क्षेत्री, तिघ्रा वैश्य र पैताला शुद्र हो भनेका छन् भने कसैले त्यस विराट पुरुषले मुख, पाखुरा, तिघ्रा र पैतालाबाट व्रmमैसँग ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्रलाई पैदा गरे भनेका छन् । यस कुराको अनुवाद र व्याख्यामा हिन्दुहरुबिच नै एकरुपता छैन ।

भीमराव अम्वेडकरले शुद्रको उत्पत्तिका दुई कारण बताएका छन् । राजा र ब्राम्ह्ण बिचमा मतभेद र कलहको परिणामले र ब्राम्ह्ण र बौद्धको आपसी सङ्घर्षबाट ऋग्वेदमा अनार्यहरु आर्यद्वारा विभाजित भएपछि शुद्र भएको देखिन्छ । शुद्रले गर्ने फलाम, छाला, माटो आदिका काम । र, सडक नाली आदि सफाइ गर्ने काम, मासु काट्ने । बेच्ने मसानघाट, कुर्ने काम ज्यादै हेय र घृणाको दृष्टिले हेर्न थालियो । पेसा छाड्न नपाउने नियम बनाइयो । नियम उल्लङ्घन गर्नेलाई दण्ड सजायको व्यवस्था गरियो ।

आहुतिका अनुसार सुरुमा वर्ण व्यवस्था पेसाका आधारमा थियो तर दक्षिण एसियामा भएको श्रम विभाजन अनुउल्लङ्घनीय प्रकारको थियो । बाबु बाजेले गरेको नै पेसा सन्तानले गर्नु पर्ने बाध्यात्मक स्थिति पैदा गरियो । वर्ण व्यवस्थाले ब्राम्ह्ण क्षेत्रीलाई फाइदा पुर्याए पनि वैश्य र शुद्रलाई हिनताबोध र आव्रmोस बढायो । फलस्वरुप वैश्य र शुद्रले विद्रोह गरे । जुन वैश्य र शुद्रले विद्रोह गरे, उनीहरुलाई दमन गरियो । समाजबाट बहिष्कार गरियो । यही बहिष्कार प्रव्रिmया नै छुवाछुतको सुरुवात हो । पछि अपराधमा परेका, बहिष्कारमा परेका शुद्रसँग विवाह गर्नेलाई अछुतमा झार्ने नियम राज्यले बनायो । जसको माध्यमबाट त्यसबेलाका टाठा बाठालाई राज्य गर्न सहज भयो ।
शुद्र नै दतिल हुन् त ?

हिन्दु वर्ण व्यवस्था अनुसार शुद्र भनिएको वर्ण नै हालको दलित हो या होइन भन्नेमा विवाद छ । तथापि, नेपालको हकमा हिन्दु वर्ण व्यवस्थामा शुद्र भनिएको वर्ण नै दलित हो भन्ने आधार नेपाली शब्दकोश र वर्तमानमा दलितले भोग्दै आएको व्यवहारबाट प्रष्ट हुन्छ ।
‘प्रयोगात्मक नेपाली शब्दकोश’ मा शुद्रको अर्थ यस्तो लेखिएको छ– वर्णव्यवस्था अनुसार मानव समाजको चौथो वर्ग वा वर्ण, अछुत मानिएको वर्ग, हरिजन, निम्न जात । वर्णव्यवस्था भनेको चारवर्ण ब्राम्ह्ण, क्षेत्री, वैश्य र शुद्रले पालन गर्नुपर्ने धर्मकर्म । उही शब्दकोशमा ‘अछुत’ को अर्थ यस्तो छ– छुन नहुने जात, पानी नचल्ने जात, हिन्दु वर्ण व्यवस्थाअनुसार छोइछिटो हाल्नुपर्ने जात ।

वेदले विभेद गर्ने बारे केही उल्लेख नगरे पनि त्यसपछिका हिन्दु ग्रन्थहरुले शुद्रमाथि अमानवीय व्यवहार गरेका छन् । जसमध्येको एक मनुस्मृतिले चार वर्णलाई स्पष्ट रुपमा जन्मका आधारमा व्यक्तिलाई विभाजन गरेको छ र वर्ण अनुसार ब्राम्ह्णलाई पढ्ने पढाउने, क्षेत्रीलाई प्रजा रक्षा, वैश्यलाई पशुहरुको रक्षा र शुद्रलाई सेवा गर्ने कार्य निश्चित गरिएको पाइन्छ ।

शुद्रलाई हिन्दु धर्ममा सेवक बनाइयो । ब्रम्हाले उपयुक्त ती वर्णहरुका गुणलाई अनुशरण गर्दै सेवा गर्ने भनेर एउटा मात्रै कर्म शुद्रलाई निश्चित गरिदिएका छन्– मनुस्मृति अध्याय–१ सेवक मात्रमा सीमित राखिएन, उसले छोएका खाद्यान्न समाजमा अस्वीकृत भयो । सुँगुरले सुँघ्यो, कुखुराका पखेटाको हावा लाग्यो, कुकुरले देख्यो र शुद्रले छोयो भने श्राद्धको अन्न निष्फल हुन्छ । (३÷२४१) मनुस्मृति  । यसबाट प्रष्ट हुन्छ कि हिन्दु वर्ण व्यवस्था अनुसार शुद्र बनाइएको मध्येहरु नै दलित हुन् ।

मुलुकी ऐनले छोइछिटो हाल्नुपर्ने भनी तोकेका
नेपालको शासन पद्धति हिन्दु धर्मअनुसार चल्दै आएकोमा विसं. १९१० मा मुलुकी ऐन बनाएर तागाधारी, मतवाली (मासिन्या र नमासिन्या), पानी अचल छोइछिटो हाल्नु नपर्ने र पानी अचल छोइछिटो हाल्नुपर्ने भनी विभाजन गरियो । जसमध्ये पानी अचल छिटो हाल्नुपर्ने भनी छुट्याएका जातहरु व्रmमशः सानोबाट ठुलो च्याम्हासलक, पोढ्या, वादि, गाइन्या, दमाई, हुक्र्या, चुनार, चुनारा, कामी, सार्की (वि.सं. १९१०को मुलुकी ऐन) आदि । यी जातिहरुलाई राज्यमा सम्पत्ति कमाउन रोक अर्थात् उनीहरुको श्रम बलीघरे बनाइयो । दोस्रो, राज्यको निकायमा सेवा, रोजगारमा प्रतिनिधित्व गर्न निषेध गरियो, गरेमा पनि जस्तै सेनामा कामीले हतियार बनाउन पाउने तर हतियार चलाउन नपाउने । सार्कीले जुत्ता सिलाउने, दमाईले बाजा बजाउने आदि । पढ्न नपाउने व्यवस्था गरियो र शिक्षाको माध्यमबाट प्राप्त हुने अवसरबाट बन्चित गरियो । यति मात्र गरिएन, एकै किसिमको अपराधमा जात अनुसार घटीबढी दण्ड सजायको व्यवस्था गरियो । उदाहरणः विसं १९९७ मा पव्रmाउ परेका प्रजापरिषद्का सदस्यहरु रामहरि शर्मा, टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुव्रmराज शास्त्रीमध्ये टङ्कप्रसाद आचार्य र रामहरि शर्मा दुईजनालाई बाहुन भएकाले मारिएन । अरुलाई मृत्युदण्ड दिइएको थियो । टङ्कप्रसाद आचार्यपछि प्रधानमन्त्री भए र रामहरि शर्मा जिउँदा शहिद कहलिए । ( जात अनुसारको दण्ड सजाय व्यवस्थाबारे जानकारीका लागि विसं. १९१० को मुलुकी ऐन हेर्नु होला)

दलित शब्दको प्रयोग
सुरुमा छुवाछुत र जातीय भेद्भाव भोग्दै आएका समुदायका अग्रजहरुले विभिन्न नाममा सङ्गठित भएर जातीय विभेदको विरोध गरे । विसं.२००३ सालदेखि विसं.२०२३ सम्म मुलुकी ऐनमा पानी अचल छिटो हाल्नु पर्ने समुदायका उत्पीडित वर्गले आफूमाथि भएको उत्पीडनका विरुद्ध राज्य र समाजको ध्यानाकर्षण गराउन कहिले ‘परिगणित, कहिले अछुत, कहिले अति पिछडा, हरिजन’ जस्ता शब्द प्रयोग गरेर दलित आन्दोलन अघि बढाउने काम गरे ।

भारतमा १९औँ शताब्दीमा हिन्दु वर्ण व्यवस्थाद्वारा शुद्र बनाइएकालाई सम्बोधन गर्न पहिलो पटक ‘दलित’ शब्दको प्रयोग भएको पाइन्छ । भारतका एक चिन्तक तथा समाज सुधारक ज्योतिराओ फूले (सन् १८२७) ले पहिलो पटक प्रयोगमा ल्याएको मानिन्छ दलित शब्दलाई राजनीतिक रङ दिने काम भने भारतका संविधान निर्माता तथा दलित आन्दोलनका अगुवा वीआर अम्बेडकरले गरेका थिए । भारतीय दलित आन्दोलनबाट स्थापित दलित शब्दलाई नेपालमा विसं. २०२४ सालमा सहर्षनाथ कपालीको संयोजकत्वमा ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद्’ नामको दलित सङ्गठन स्थापना गरी पहिलो पटक प्रयोग भएको पाइन्छ । उक्त परिषद्मार्फत् अछुत बनाइएको नेपालीलाई सम्बोधन गर्न दलित नामाकरण गरिएको हो । नेपाली र हिन्दी शब्दकोशमा दलित शब्दको अर्थ हेपिएको, दलिएको, पिसिएको भन्ने रहेको छ । अतः आज दलित भनेर चिनिएका सबै हिन्दु वर्ण व्यवस्थाले शुद्र बनाएको समुदाय हुन् भनी भन्न सकिन्छ ।

नेपालमा हिन्दु वर्णव्यवस्था अनुसार अछुत बनाइएकाहरु खस—आर्य, मधेसी र नेवार तिनवटा समुदायका छन् । नेपालको हकमा यी तिनैवटा समुदायमा रहेका छुवाछुत र जातीय विभेद भोग्दै आएका जातिहरु दलितभित्र पर्दछन् । नेपाल राष्ट्रिय दलित अयोगद्वारा सूचीकृत गरिए अनुसार पहाडे दलित १. विश्वकर्मा (कामी, सुनार, लोहार, टमटा, चुनारा, खोड, पार्की) २.परियार (दर्जी, दमाई, परियार, हुड्के, ढोली, सूचिकार) ३.सार्की (मिजार, चर्माकार, भूल) ४.वादी ५.गन्धर्व (गाइने) । मधेसी दलित १. खलिट २. खत्वे ३.चमार ४.डोम ५.तत्मा ६.चिडिमार ७. दुसाध ८.पत्थरकट्टा ९.धोवी १०.पासी ११.बाँतर १२.मुसहर १३.सरभङ्ग (सरवरीया) १४.कलर १५.बाँतर १६. मेस्तर (हलखोर) १८.पासी १९. नटुवा २०. ढाँडी २१.धरिकर (धन्कार) र नेवार समुदायका १.कुसुले, कपालीे, कुस्ले २. खड्गी (शाही, कसाई, नेपाली) ३.च्यामे (कुचिकार, च्याम्खल) ४.पोडे (देउला, पुजारी, जलारी, जालन्धर) ५.धोवी ।

दलितले कुन धर्म मान्छन् ?
मूलतः दलितहरु हिन्दु धर्मबाट पीडित भएका हुन् । हिन्दु वर्ण व्यवस्थाले शुद्र बनाएर दलितलाई विभेद गरेको भएपनि धेरै दलित हिन्दुत्वको अन्धपरम्पराबाट बाहिर निस्कन सकेका छैनन् । केही दलितले आफूलाई विभेद गरेको भन्दै हिन्दु धर्म त्याग गरेर व्रिmश्चियन धर्म अनुसरण गरेका छन् । केही दलित सबै धर्मको अन्धविश्वासी प्रकृतिबाट आजित भएर तटस्थ छन् अर्थात् नास्तिक हुन थालेका छन् । समाज विकासको व्रmममा विभिन्न किसिमका धर्मका अन्धपरम्पराले मानिसलाई विभेद मुक्त बनाउन सकेको देखिँदैन । त्यसैले, सचेत मानवले एक निश्चित धर्म अनुशरण गर्नुपर्छ भन्ने छैन । अर्को कुरा, मानिस जुन धर्म मान्नेका घरमा जन्म लिन्छ ऊ त्यही धर्मको हुन्छ भन्न सकिन्न । धर्म मान्नु र नमान्नु उसको निजी विषय हो ।

आज छुवाछुत र जातीय विभेदमा परेका समुदाय आफुलाई दलित शब्दको सट्टामा शिल्पी, उत्पीडित, श्रमजीवी आदि नाम राखेर छुवाछुत र जातीय विभेदको विरुद्धको आन्दोलन अघि बढाउनु पर्छ भन्ने मत राखी खिचातानी गरिरहेका छन् । दलितहरु आफु कुन नश्लमा परेका छौँ । खस–आर्य, मङ्गोल के हौँ भनी आफ्नो अस्तित्व खोजेको पाइन्छ । तर, पहिलो कुरा दलितहरुले के बुझ्नु पर्छ भने यो सामन्ती राज्यसत्ताबाट उत्पीडनमा परिएका र वर्तमान समाजमा मानवको रुपमा दर्ज हुन बाँकी मानव हौँ । हाम्रो लक्ष्य राज्यबाट हिस्सेदारी लिनु र समाजमा मर्यादित जीवन बिताउन सङ्घर्षशील रहनु हो ।


प्रतिक्रिया दिनुहोस
कार्यालय ठेगाना
हाम्रो बारेमा
हाम्रो टीम
प्रबन्ध निर्देशक/प्रधान सम्पादक
राजेन्द्र कार्की
सम्पादक
सुवास बस्नेत
कानुनी सल्लाहकार
भाेलाप्रसाद लाेहनी
सम्वाददाताहरु
नवराज बस्नेत(दक्षिण काेेेरिया)