तोकिएको समयमा लाग्दैन फोन



काठमाण्डौँ।मोबाइल कल गर्दा पाँच सेकेन्डभित्रै कल स्थापित हुनुपर्नेमा तीनवटै मुख्य सेवा प्रदायक यसमा असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख र जेठमा उपत्यका बाहिरका दुई सहरमा गरेको ‘टेस्ट ड्राइभ’ परीक्षणका आधारमा त्यस्तो पाइएको हो । चलायमान सवारीमा उपकरण जडान गरी लगातार गरिएको कलका आधारमा यस्तो तथ्य पत्ता लागेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विराटनगर र यस आसपासका क्षेत्रमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको आफ्नै नेटवर्कभित्र स्थानीय कल गर्दा तीनवटै सेवाप्रदायकको कल स्थापना हुने समय पाँच सेकेन्डभन्दा माथि छ । नेपाल टेलिकमको आफ्नै नेटवर्कभित्र कल गर्दा ८.७९ सेकेन्डमात्र कल लागेको छ भने एनसेलको ६.५२ सेकेन्ड र स्मार्टको ८.४६ सेकेन्ड लागेको परीक्षणले देखाएको छ । त्यस्तै फोनकल स्थापना हुने दर ९९ प्रतिशतभन्दा बढी हुनुपर्ने दर तोकिएकोमा यसमा एनसेल मात्र सफल भएको छ । एनसेलको यस्तो दर ९९.२६ प्रतिशत छ । टेलिकमको ९७.०६ र स्मार्टको ९७.८१ प्रतिशत मापन भएको छ । फोनमा कुराकानी गर्दैगर्दा विच्छेद हुने दरमा भने टेलिकम र स्मार्ट सफल भएका छन् भने एनसेल असफल छ । विच्छेद हुने दर दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा टेलिकमको १.५२ र स्मार्टको शून्य प्रतिशत छ । शून्य अर्थात् स्मार्टबाट स्थानीय कल गर्दा कुनै पनि कल काटिएको पाइएको छैन । एनसेलको यस्तो दर २.२२ प्रतिशत छ ।

धनकुटामा दुईवटा सेवाप्रदायकमा गरिएको परीक्षणमा पाँच सेकेन्डभित्र कल लागि सक्नुपर्नेमा टेलिकमको ९.३६ र एनसेलको ६.८४ सेकेन्डमा मात्र कल स्थापना भएको पाइएको छ । कल स्थापना हुनुपर्ने दरमा टेलिकमले ९९.०१ प्रतिशत प्राप्त गरेर सफल भएको छ । यस्तो दर एनसेलमा ९०.२ प्रतिशत मात्र छ । आफै फोन काटिने समस्या टेलिकममा पाइएको छैन । यस्तो दर टेलिकमको एक प्रतिशत मात्र छ एनसेलको ३.२६ प्रतिशत छ ।

प्राधिकरणले विभिन्न सेवाप्रदायकले उपलब्ध गराइरहेको दूरसञ्चार सेवाको गुणस्तरमापन गर्न ड्राइभ टेस्टको विधिलाई पछिल्लो समय गति दिएको छ । उपत्यकासहित यस बाहिर प्रमुख राजमार्गहरूमा पनि प्राधिकरणले परीक्षण गरिसकेको छ । खास गरी यात्रामा रहँदा फोन लाग्ने समय तोकिएको स्तरभन्दा बढी लाग्ने पाइएको छ । यसबाहेक प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण पनि गरिरहेको छ।