अपाङ्ग भएर पनि विश्व साइकलयात्री:पाैडेल



राजेन्द्र कार्की।दक्षिण काेरिया,अपाङ्ग भएका व्यक्तिले केही गर्न सक्दैन भन्ने धारणा विपरीत मोरङ घर भई हाल काठमाडौँमा बस्दै आउनुभएका २९ वर्षीय चित्र पौड्यालले अपाङ्ग भएर पनि विश्व अपाङ्ग साइकलयात्री बनेर आफूलाई विश्वसामु चिनाउन सफल भएका छन्।नेपालबाट सुरु गरेको उनको साइकल यात्राले भारत, श्रीलङ्कालगायत ५४ वटा देशको भ्रमण पूरा गरिसकेको छ।

सामान्य परिवारमा जन्मिनुभएका चित्रलाई पोलियो रोगले गाँजेर पाँच वर्षको उमेरमा दायाँ खुट्टा राम्ररी चलेन। समय मै उपचार गराउन नसकेकाले अपाङ्ग भएर बस्नुपर्ने बाध्यात्मक अवस्था उनलाई आयो।खुट्टाले राम्ररी काम गर्न नसक्ने भई दिनरात आमाबुबालाई चिन्ताले सताउँदै गएपनि विस्तारै साहसका साथ परिवारले आफूलाई पढ्न सहयोग तथा प्रेरणा प्रदान गरेको उनको भनाइ छ। परिवारको माया, ममता तथा प्रेरणाले गर्दा एसएलसीसम्मको पढाइ गाउँमै पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौँ आएको उनी बताउँछन्।

सोही क्रममा अपाङ्ग (एक हात नभएका) एक व्यक्तिसँग आफ्नो काठमाडौँको भृकुटीमण्डप अगाडि भेट भएको उनले बताए । सो व्यक्तिले विश्व यात्राका लागि आफ्नो यात्रा प्रारम्भ गरेको थाहा पाएपछि आफूलाई पनि केही गर्न सकिँदो रहेछ भन्ने भावना जागेको उहाँले जानकारी दिए । त्यो दिन कोठामा आएर आफू पनि जीवनमा केही न केही गर्छु भनेर राति अबेरसम्म सोचमा डुबेको उनलाई अहिलेसम्म सम्झना छ। उनी भन्छन् ।राति अबेरसम्म सोचे पनि मभित्र साइकलबाटै विश्व भ्रमण गर्ने उत्सुकता पलायो, साथीभाइसँग सल्लाह गरेँ। उनीहरुबाट पनि राम्रो प्रेरणा तथा सहयोग पाएपछि सन् २००४ देखि नेपालको महाकाली अञ्चलबाट आफ्नो साइकलयात्राको सुरुवात गरेको हुँ।

साथीहरुको सहयोग पाए पनि आफू विश्व यात्राका लागि हिँड्ने कुरा परिवारमा सुनाउँदा परिवारले अपाङ्ग भएर त्यसरी यात्रामा निस्किँदा गाह्रो हुने भन्दै आफूलाई रोक लगाउने प्रयाससमेत गरेको उनले बताए ।परिवारको कुरा नसुनी उहाँले नेपालबाट साइकल भ्रमणका लागि हिँड्नुभएका उहाँ अहिले विश्वकै सफल साइकल यात्रीका रुपमा स्थापित हुनुभएको छ।

अपाङ्ग भएर पनि विभिन्न देशको भ्रमण गर्न लागेको देखेपछि देश, विदेशका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्रेरणा तथा ठूलो सहयोग प्राप्त भइरहेको र त्यस्तो सहयोग र प्रेरणाले आफूमा झन् बढी हौसला पलाएको उहाँले बताउनुभयो।त्यतिमात्र होइन, नेपालको प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र सगरमाथालाई विश्वसामु परिचित गराउने उद्देश्यले उनको नेतृत्वमा अन्य ५० जना सपाङ्ग व्यक्तिसहितको टोलीले घुम्ती साइकल यात्रा गर्ने तयारी गर्दैछ। सो साइकल यात्रा लुम्बिनीदेखि सुरु भई सगरमाथाको आधार शिविरसम्म पुग्ने उनले बताइन्। यात्रा अर्को वर्षको वैशाख ३ गतेदेखि सुरु गरेर १७ गतेसम्म समापन गरिने छ।

नेपालको महत्वपूर्ण पर्यटकीय स्थलहरुलाई विश्वसामु चिनाउने उद्देश्यले गरेको सो यात्रा सकिएलगत्तै युरोप भ्रमणमा निस्कने तयारीमा आफू लाग्ने उनले बताए ।अपाङ्ग भएर पनि विश्व यात्राको लक्ष्य लिएर सुरु गरेको चित्रको साइकल यात्रा उनको व्यक्तित्व उजागर गर्न मात्र नभई सिङ्गो देशकै प्रचारप्रसारका लागि पनि महत्वपूर्ण घडी बनेको छ।