हरियो चुरा,मेहन्दी र साउन महिना



काठमाण्डौं। यस वर्षको साउन महिना शुरु भएको छ । यो महिना नेपाली चेलीहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिडिरहेका नारीहरुलाई हेरेर नै थाह हुन्छ कि यो साउन महिना हो । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेसन जस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे । अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यो फेसन बढ्दै गएको पाइन्छ । एकातिर धर्म संस्कृति होला भने अर्को तिर यो फेसन जस्तै पनि बन्दै गएको छ । हरियो चुरासँग श्रीमानको स्वास्थ्यको के र कुन आधारमा सम्बन्ध छ त्यो त थाहा छैन तर हामीहरु यो सबै गरिरहेका छौ ।

साउन महिना प्रकृतिक रुपले नै हरियो हुने भएकाले नारीहरुले यस्तै खालको रङ्गको समायोजन गर्दा तादाम्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटीए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ । अथवा यसले एउटा फेसनको रुपमा हामी बीचमा जबरजस्त आफ्नो उपस्थिति देखाएको छ । यो महिनालाई शिवजीको महिना भनेर पूजा आजा गरिन्छ । यो एउटा आस्था पनि हो । पछिल्लो समयमा देशलाई धर्म निरपेक्ष भनिए पनि हाम्रो देश हिन्दूहरुको बाहुलियता भएको देश हो । हिन्दू धर्ममा हरेक दिन केही न केही चार्ड पर्व तिथिहरु रहेका हुन्छन् । हामीले साउन महिनाको १ गते साउन महिनाको पहिलो दिन साउने संक्रान्तिको रुपमा मनायौँ ।

साउन महिना फेरि हुन्दू नारीहरुका लागि त्यतिकै महत्वको रहेको छ । शिवजीको आराधनाका रुपमा लिइन्छ यो महिनालाई । हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्तिपर्वको रुपमा लिइन्छ । हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरूमध्ये साउने संक्रान्ति पनि एउटा महत्वपूर्ण चाडपर्वको रुपमा हामीले मनायौं । ज्योतिष शास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो भन्नु हुन्छ ज्यो पं.भरतमणी मरासीनी ।उहाँका अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्व पूर्ण मानिन्छ ।

साउने संक्रान्तिका दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणिगोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ । साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरुलाई भित्रयाउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिनहुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनीगर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजागर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहीत महिलाहरु साउने संक्रान्ति देखि

साउन महिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् । धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रहि आएको छ । परम्परागत संस्कृतिलोप हुँदै गएको बताइए पनि नेपाली महिलाहरुले भने साउन महिनाको सोमबारलाई विषेश रुपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनको लागि त कसैले फेसनकै रुपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।

हिन्दु महिलाहरुले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरुले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरु ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरुले राम्रो वर र विवाहितहरुले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्तहुने जनविश्वास रहेको छ ।

साउन महिनाको हरेक सोमबार विहानैदेखि महिलाहरुको काठमाडौंको पशुपतिनाथ मन्दिर तथा देशका अन्य शिवमन्दिरहरुमा पनि महिलाहरु श्रद्धा भक्तीपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । साउन महिनामा चारैतिर हरियालीसँगै ब्रतालु महिलाहरु हरिया चुरामा सजिन्छन् । यसैले पनि यति बेला राजधानीका शहर बजारमा मेहेन्दी र हरिया चुरा लगाउनेहरुको संख्याबाक्लो छ । र पसलेलाई पनि चुरा बेच्न तथा मेहेन्दी लगाइदिन भ्याईनभ्याई छ ।

हिजोआज हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीहरुको व्यापार बढेको छ । काठमाडौंको विशेषतः न्यूरोड, असन, पुतलीसडक, सुनधारा, पशुपतिनाथ मन्दिर आसपासका पसलहरुमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरुको भीड नै लाग्ने गर्दछ । यसरी पसलहरुमा भीड लाग्नुको मुख्य कारण भनेको अरुको सिको गर्नु हो । धर्म कर्ममा विश्वास भन्दा पनि फेसनकै आधारमा युवतीहरु पछि लागेकाले पनि यस्को व्यापार बढेको देखिन्छ ।

पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरु जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरुको पनि कमी छैन ।