कविता “बाहुन”-रचना विश्वकर्मा



कविता

हे बाहुन तिमि कस्तो बाहुन ?
बिहानै देखी भट्टीमा धाउने
झ्याप नभएको रातै नहुने
धोक्ने बेला तिम्रो जात नजाने
अनि उपनाम चै दलितको हुने
हे बाहुन तिमि कस्तो बाहुन ?

दलितले पालेको खसी चाही चल्ने
पकाएको नचल्ने तिमिलाइ
खाने बेला सोध्छौ कसले बनाएको
फेरि किन सोच्दैनौ कुन जातिले पालेको
उपनाम आफै दिन्छौ फेरि
दलितको जस्तो खुवाइ भो भनेर
उपनाम आफै दिन्छौ
हे बाहुन तिमि कस्तो बाहुन?

भैसिको म:म छोयलाले भाग पुग्दैन तिमिलाइ
भट्टीमा रक्सिको माग पुग्दैन तिमिलाइ
दलितले पालेको अनि दलितकै दिसा खाइ हुर्केको सुङुगुर नि स्वादले पचाउछौ
फेरि दलितले छोएको पानी नचल्ने तिमिलाइ
हे बाहुन तिमि कस्तो बाहुन?

जनै लाउछौ, गिता भागवत पढ्छौ
चोरिएको बेदको मन्त्र नि जप्छौ
दलित ले नै सिएको वस्त्र लाउछौ
खुब शुद्ध ठान्छौ आफैलाइ
हे बाहुन तिमि कस्तो बाहुन?

अस्पतालमा तिमिलाइ सलामपानी चल्छ
दलितले दिएको रगत नि चल्छ
भट्टीमा पिउने तिन पानी नि चल्छ
दलितले छोएको पानी नचल्ने तिमिलाइ
अन्तर्जातिय बिहे गर्दा एक लाख नि चाहिने तिमिलाइ
तर उहि दलितको छोरिलाइ घर भित्र्याउन नसक्ने
हे बाहुन तिमि कस्तो कायर बाहुन?
हे बाहुन तिमि कस्तो लाछी बाहुन?

जवानी नशामा न देख्छौ काली ,नेप्टि ,न भन्छौ लुलो लङगडाे ?
न देख्छौ सानो ठुलो जात
मेट्न पाए पुग्छ तिम्लाइ यौवनको प्यास
बिहे गर्दा चाही मिलाउन पर्ने रे
रुप,रङ्ग ,गोत्र अनि जात
हे बाहुन तिमि कस्तो भद्र बाहुन

यौवन चल्छ बिहे चल्दैन तिमिलाइ
भाडाे चल्छ भान्सा चल्दैन तिमिलाइ
दलितले नै बनाएको दियो चल्छ पुजा चल्दैन तिमिलाइ
धारो चल्छ् पानी चल्दैन तिमिलाइ
उहि दलितले नै बनाएको सुन चल्छ
तर,दलितले छोएको धारो (पानी)भन्दै उहि सुनपानीले चोख्याउछौ
हे बाहुन तिमि कत्ति छुत ठान्छौ आफैलाइ
कि ,जहाँ छुत भनौदाहरुले दलिएका ,हेपिएका ,थिचिएका मिचिएकालाइ राज्यले सम्मान स्वरुप दिएको दलितको सङज्ञालाइ तिमि भने हिन्दु वर्नाश्रम अनुसार छुट्याएको दलित शब्दलाइ नै अछुत भनी बुज्छौ
हे बाहुन तिमि कस्तो ज्ञानि बाहुन ?हे बाहुन तिमि कस्तो बाहुन?

रचना विश्वकर्मा,सिन्धुपाल्चोक चौतारा