दशैँ खर्चको जोहो गर्न स्थानीयलाई चटारो



दोलखा।असोज ७,नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै धेरैजसो स्थानीय सर्वसाधारणलाई कसरी दशैँ खर्च जोहो गर्ने भन्ने चिन्ता बढेको छ । दशैँ खर्च जोहो गर्न दैनिक कोदो, मकै, आलु, फापर गहुँको भरी बोकेर ग्रामीण भेगका स्थानीय सदरमुकाम चरिकोट आउने गरेका छन् । बैतेश्वर गाउँपालिकका ५० वर्षका सिंहबहादुर खड्का दशैँ खर्च जुटाउन दैनिक सदरमुकाम चरिकोटमा कोदो, फापर, मकै लसुन र अदुवा बिक्री गर्नको लागि दैनिकजसो आउँछन् । सिंहबहादुर खड्का दशैँको सिजन पारेर जिल्लाको बैतेश्वर, तामाकोसी र मेलुङ गाउँपालिकका स्थानीय कृषकले उत्पादन गरेको कोदो एक सय १० रूपैयाँ पाथीमा किन्छन् र त्यहीँ कोदोलाई सदरमुकाम चरिकोट बोकेर ल्याएर ३० रूपैयाँ फाइदा गरेर बेच्ने गर्छन् ।

पछिल्लो समय दोलखामा थोरै मात्रामा कोदो फापरको खेती हुने भएकाले पनि चरिकोटका होटल व्यवसायीहरू सिंहबहादुर खड्काले बेच्न राखेको कोदो फापर किन्ने गर्दछन् । दशैँतिहारमा कोदो फापरका परिकार ग्राहकहरूले होटलमा विशेष चिज मानेर खानाका लागि आउने भएकाले तोकेको मूल्यमै बिक्री हुनेगरेको खड्का बताउँछन् । जिल्लामा पछिल्लो समय कोदो फापरको माग बढ्दै गएको छ । कोदो फापरको बिक्री गर्दा राम्रो कमाइ हुने भएकाले पनि दशैँ खर्चको जोहो गर्न यहीँ व्यापार उपयुक्त हुनेगरेको उनले बताए ।

खड्का भन्छन्, ‘बजारमा सबैले एकै किसिमको सामान बिक्री गर्न राख्दा बिक्री गर्न मुस्किल हुने हुँदा आफूले फरक खालको दैनिक आवश्यक पर्ने उपभोग्य खाद्यवस्तु ल्याउने गरेको छन् ।’ खड्काको गत चारवटा दशैँ जस्ताको टहरामा बित्यो । यसपटकको दशैँ नयाँ घरमा मनाउने भएकाले पनि गत वर्षको दशैँमा विषेश गरी मनाउने सोचअनुसार दशैँको खर्चमा वृद्धि हुने उनी बताउँछन् । दशैँमा थप खर्च हुने भएकोले सधैँ सदरमुकाम चरिकोटमा डोको र बुराको भारी बोकेर आउने गरेको उनले सुनाए । उनको छ जनाको परिवारलाई लत्ताकपडा र दशैँको टिकाटालो खर्च टार्न कम्तीमा ६०/६५ हजार लाग्ने भएकाले सोही खर्च जम्मा गर्न सधैँ चरिकोट आउनु पर्ने खड्काको बाध्यता रहेको छ । चरिकोट बजारमा लाग्ने शनिबारे हाटबजारको दिन खड्काले सामान किनेको खर्च कटाएर पाँचदेखि आठ हजारसम्म कमाउने गरेको सुनाए ।

खड्का त्यस्तैगरी दोलखाको धेरै सर्वसाधारणलाई दशैँ खर्च जोहो गर्ने चटारो चलेको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ र ७ का स्थानीय कृषक पनि दैनिक तरकारी र फलफूलका भारी बोकेर सदरमुकाम चरिकोट आउने गरेका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीकी जानुका तामाङ दशैँ मनाउनको लागि खर्च जम्मा गर्न काउली र बन्दाको भारी बोकेर दैनिकरूपमा बिहान सदरमुकाम आउने गर्छिन् । वैदेशिक रोजगारीमा गएका जानुकका श्रीमान्को पाँच वर्ष पहिले मलेसियामा नै मृत्यु भएपछि दशैँ खर्च आफैँले जुटाउनु परेको उनले बताइन् । ४० वर्षीया जानुका तामाङ दुईवटा छोरा र तीनवटा छोरीलाई दैनिक तरकारी बेचेर नै पालिरहेकी छिन् ।

जानुका भन्छिन्, ‘श्रीमान् हुँदा सबै खर्च आफैँ जुटाउनुहुन्थ्यो, अहिले श्रीमान्को मृत्यु भएपछि सात जनाको परिवारलाई एक्लै दुःख गरेर खर्च धान्नु परेको छ ।’ उनले थपिन्, ‘फेरि यो दशैँ आउनेबित्तिकै छोराछोरीलाई लत्ताकपडा किन्न र मीठोचोखो दिनैप-यो, त्यही भएर पनि बन्दा र काउलीको भारी बोकेर चरिकोट धाउनुपरेको छ ।’ अरु दिन एक्लै बजार आउने उनलाई शनिबारचाहिँ उनका जेठो छोरा र साइली छोरीले सदरमुकाम आउन सहयोग गर्नेगरेका छन् । जानुकालाई शनिबार आउँदा छोराछोरीको सहयोगले धेरै राहत मिलेको छ । सदरमुकाममा शनिबारको दिन हाट लाग्छ । उक्त दिन पाँचदेखि सात हजार कमाउने गरेको तामाङ बताउँछिन् । साताको अन्य दिनमा भने सामान्य कमाइ हुनेगरेको उनको भनाइ छ । उनले डोकोमा बन्दाकाउली, आलु, लसुन, सागलगायतको तरकारी सदरमुकाममा बिक्री गर्दै आएकी छिन् ।