काँग्रेसमा ११ केन्द्रीय सदस्य थप हुने



काठमाण्डौँ।असाेज ११,नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ११ सदस्य थप गर्ने भएको छ ।काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको साङ्गठनिक संरचना समायोजनसम्बन्धी सहमतिको दस्तावेज सर्वसम्मत रुपमा पारित गरेको छ ।

सहमतिको दस्तावेजअनुसार काङ्ग्रेसका साङ्गठनिक संरचनामा लोकतान्त्रिक फोरमको ११ केन्द्रीय सदस्य, ६०० महाधिवेशन प्रतिनिधि, विभिन्न जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्य, नगर-उपमहानगर-महानगर कार्यसमिति, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्था तथा क्रियाशील सदस्यमा समायोजन गर्ने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार काङ्ग्रेसलाई पार्टीको उपसभापति र सो पार्टीका २०० जनालाई महासमिति सदस्य स्वीकार गरी अनुमोदन गरेको थियो ।

यसैगरी तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी साङ्गठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रस्ताव पेश गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिको गठन गरिएको थियो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, एनपी साउँद, भीष्मराज आङ्दम्बे, देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राखेका थिए ।बैठकले उपसभापति निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजनसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।