काठमाण्डौ उपत्यकामा चहलपहल घट्यो,झण्डै २४ लाख मानिस बाहिरिए



काठमाण्डौ।दशैँ मनाउन सर्वसाधारणहरु घर गएसँगै काठमाण्डौ उपत्यकामा चहलपहल घटेको छ।काठमाण्डौका सडकमा गुड्ने गाडीहरु पनि पातलिएका छन्।सीमित भाडाका र निजी गाडी तथा मोटरसाइकल मात्रै सडकमा गुडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार सबैभन्दा धेरै तीन लाख ४५ हजार मानिस काठमाण्डौबाट बाहिरिएका छन्। त्यस्तै ५४ हजार आठ सय गाडी पनि बाहिरिएका छन्। 

अहिलेसम्म दशैँ मान्नका लागि झण्डै २४ लाख मानिस बाहिरिएका छन्।यस्तै गएको वर्षभन्दा यो वर्ष शान्ति सुरक्षा प्रभावकारी भएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले दाबी गर्नुभएको छ।उहाँका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरि आठ हजार पाँच सय स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ।प्रहरीले निगरानी बढाउँदा बढाउँदै पनि गाडीले तोकेकोभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको भन्दै उहाँले तीन सय ५० गाडीलाई कारबाही गरिएको बताउनुभयो।त्यस्तै नागढुंगा काेटेश्वर लगायतका सडककाे जाम पनि हटेकाे प्रहरीले जनाएकाे छ।