स्वागतको तयारी तीव्र,यस्तो रहनेछ काठमाडौंमा चिनियाँ राष्ट्रपति शीको व्यस्त कार्यतालिका



काठमाण्डौं।नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति शी चिनफिङ शनिवार काठमाडौंं आउँदैछन् । शुक्रवार भारतको चेन्नई गएका चिनियाँ राष्ट्रपति शी भोलि अपराह्न भारतबाट सिधै काठमाडौं आउन लागेका हुन् ।चिनियाँ राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ । शीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने तय भएको छ ।

चिनियाँ राष्ट्रपतिलाई कसले स्वागत गर्ने भन्नेबारे सरकारले औपचारिक रुपमा केही बताएको छैन । बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकारको प्रश्नको ठाडो जवाफ दिँदै त्यहीँ थाहा हुने बताएका थिए । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि स्कूलका विद्यार्थीहरु हातमा नेपाल र चीनको झण्डा लिएर सडकमा उभिनेछन् । शीको स्वागतका लागि विमानस्थलदेखि सोल्टी होटलसम्म ४५ वटा स्वागतद्वार बनाइएको छ ।

सूचना विभागले पत्रकारहरुलाई फोटो खिच्नको लागि दिएको समय अनुसार चिनियाँ राष्ट्रपति शी ३ बजे विमानस्थलमा उत्रिनेछन् । सुरक्षाका कारण उनको अवतरणको समय खुलाइएको छैन । ३ देखि ४ बजेको समयमा चिनियाँ राष्ट्रपति आइपुग्ने सुरक्षा स्रोतले बतायो । शनिवार दिउँसा विशेष बिमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने चिनियाँ राष्ट्रपति शीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले स्वागत गर्नेछन् । त्यसपछि शी ताहाचलस्थित सोल्टी होटल पुग्ने कार्यक्रम छ । शनिवार राति शी त्यही बस्नेछन् ।

शनिवार साँझ राष्ट्रपति भण्डारी र शीबीच शीतलनिवासमा विशेष भेटवार्ताको कार्यक्रम छ । भेटवार्ता सकिएपछि शीको स्वागतमा राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । सांगीतिक स्वागतसहित सोल्टीमा शी र भण्डारीले संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम छ ।चिनियाँ राष्ट्रपति शीले आइतवार बिहान विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार, नेकपाका नेताहरुसँग सामूहिक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

आइतवार नै प्रधानमन्त्री ओली नेतृत्वको टोलीसँग चिनियाँ राष्ट्रपति शीको प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ता हुनेछ । सोही क्रममा नेपाल चीन द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।केरुङ–काठमाडौं रेल्वे विस्तार सम्बन्धी सम्भाव्यता अध्ययन सम्झौतालगायत केही सहमति र सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम राखिएको छ । भ्रमण सकेर चिनियाँ राष्ट्रपति शी आइतवार स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए ।