एकीकृत फ्रेण्डसिप सहकारीको नाफा १ करोड ९१ लाख



दाेलखा।दोलखा जिल्लाको जिरी नगरपालिकामा आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको ५ औं बार्षिक साधारण सभा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का अध्यक्ष डी.बी बस्नेतको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा यही असोज २६ गते देखि २८ गते सम्म सेवा केन्द्र सहितको केन्द्रीय बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सााधरण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष बस्नेतले यस एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले आर्थिक,सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै २०४८ सालमा राती मैन बत्ती बालेर १ रुपैया बचत संकलन गरेर संस्था स्थापना गर्ने उद्देश्य राखेको कुराको समेत स्मरण गराउनुभयो ।साथै उहाँले यस संस्थालाई नेपालको ब्राण्ड सहकारी बनाउने तयारी भईरहेको समेत जानकारी गराउनु भएको थियो ।उक्त कार्यक्रमको अतिथिहरुमा विभिन्न संस्थाका सहकारीकर्मीहरु, समाजसेवी, संस्थाका सल्लाहकार, सहकारी सञ्जाल मासिकका प्रकाशक / कार्यकारी सम्पादक कृष्णप्रसाद ढुंगेल, सेवाकेन्द्रका प्रमुखहरु , शिक्षक, कर्मचारी, वडाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खड्काले शेयर सदस्यहरुको हौसला र सुझावहरुले गर्दा नै संस्था आजका दिनसम्म सफलतापूर्वक अगाडि बढ्दै आईरहेको जानकारी दिँदै संस्थाले सदस्यहरुलाई थप सेवा प्रदान गर्नको लागि विभिन्न कार्यक्रमहरु अघि बढाईरहेको समेत प्रष्ट पार्नु भएको थियो ।

सो संस्थाका सचिव केदारबहादुर जिरेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । उक्त सभामा संस्थाका व्यवस्थापक रामबहादुर खत्रीले संस्थाको आ. व. २०७५/०७६ को प्रगति प्रतिवेदन पेश गर्दै शुभकामना मन्तव्य समेत व्यक्त गर्नुभयो । संस्थाका कोषाध्यक्ष दोर्जी शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ट बचतकर्ता, असल ऋणि, शेयर सदस्यका छोराछोरीहरु मध्येबाट एस.ई.ई. मा उत्कृष्ट छात्रछात्राहरु लगायतहरुलाई सम्मान पनि गरेको थियो । संस्थाले उत्कृष्ट कारोबार गर्ने हाटडाडा मेलमिलाप सेवाकेन्द्र तथा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ ।संस्थाको आर्थिक बर्ष २०७५/०७६ मा शेयरपुँजी रु ७,६५,७४,९००, सम्पत्ति दायित्व रु ७४,५१,८८,६७०, खुद बचत नाफा रु १,९१,५७,५६० र संस्थामा आवद्ध सदस्य संख्या बृद्धि भई ९१०२ पुगिसकेको सभामा उल्लेख गरिएको छ ।

अन्तराष्ट्रिय सहकारी, मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै आईरहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।