कविता-निर्जीव अस्तित्व–रविन्द्र ढुंगेल



“कविता”

धेरै साल भयो
जुत्ताले भुइँछोएको
आमालाई थाहा होला
कति साल भयो
खुट्टाले भुइँ छोएको

मेरा बा’लाई
थाहा होला
कति साल भयो जुत्ताभित्रको
खुट्टाले भुइँछोएको !

हिजो जुत्ता सिलाउने
सडकको
स्वायत्त कारखानामा
मलाई बा’ले भन्नुभयो–
छोरा !
यो जुत्ता
तँभन्दा धेरै साल पुरानो भयो
तेरो दाजु पर्छ यो
यसलाई मैले
सडकको गल्लीबाट उठाएर ल्याएको
यतिन्जेलसम्म यसले हाम्रो खुट्टा बचायो
बिचरा !
अब, यो
आफैंलाई बाँच्न मुश्किल छ !

छोरा ! अब
खुट्टा फेर्छौ ?
कि जुत्ता बचाउँछौ ?