बस दुर्घटनामा शैलुङ क्षेत्रका १४ जनाको मृत्यु,गाउँपालिका पुरै शोकमा



दोलखा,१८ कात्तिक। दोलखा शैलुङ गाँउपालिकाको वडा नम्बर ५ काटाकुटी अहिले शोकमा डुबेको छ।सिन्धुपाल्चोकको सुकुटेमा आईतबार दिउँसो भएको यात्रुबहाक बस दुर्घटनामा काटाकुटीकोमात्र ९ जनाको मृत्यु भएपछि अहिले सिंगो गाँउनै शोकमा डुबेको वडा नम्बर ५ का वडा अध्यक्ष किरण बस्नेतले बताए ।हिजो दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटे स्थित सुनकोशी नदिमा खस्दा शैलुङ गाउँपालिका भित्रका १४ जनाले एकैपटक ज्यान घुमाएका थिए।

उक्त दुर्घटना मृत्युहुने १४ जनाको नाममा शैलुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले शोक विज्ञप्ति जारी गर्दै आज एक दिन गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा अन्य गैर–सरकारी संघ संस्थाहरु बन्द गरेर शोक मनाएको छ।मृत्यु हुनेमा क्रमश शैलुङ गाउपालिका वडा नम्बर ५ का ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का २ जना र वडा नम्बर २ का १ जना गरि कुल १४ जनाको ज्यान गएको छ। त्यसैगरि उक्त दुर्घटनामापरि भिमेश्वर नगरपालिका वडा नम्बर ९ का १ जना, उदयपुर, चितवन र काभ्रेका १–१ जना गरि ३ जनाको ज्यान गएको छ ।

बस दुर्घटनामा मृत्यु हुनेहरुमा शैलुङ गाउँपालिका वडा नम्बर ५ का क्रमश ५२ वर्षिया चेत कुमारी बस्नेत, ४५ वर्षिया रत्न कुमारी राउत र उहाँका २९ वर्षिया छोरा किरण राउत, २० वर्षिया कविता राउत, १४ वर्षिया निखिल खड्का र ३८ वर्षिया सानु राउत आलेको मृत्यु भएको छ ।त्यसैगरि शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाका ६ वर्षिया सलिना तामाङ, सोहि स्थानका १४ वर्षिया दिल लामा, शैलुङ गाउँपालिका वडा नम्बर ३ का ३ महिने शिशु रोशन तामाङ, २७ वर्षिया चमेली श्रेष्ठ उहाँकी ६ वर्षिया छोरी साया श्रेष्ठ, ३२ वर्षिया निर्मला खड्का, १३ वर्षिया निकेश खड्का, शैलुङ गाउँपालिका वडा नम्बर २ कि ७० वर्षिया उरमाया मोक्तान र भीमेश्वर नगरपालिका वडा नम्बर ९ कि २४ वर्षिया रन्जिता केसीको मृत्यु भएको छ ।

त्यसैगरि काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नम्बर ४ कि ५ वर्षिया सजिना तामाङ, चितवन जिल्ला साविक पटिहानी गाविसकि ५६ वर्षिया पुजा बस्नेत र उदयपुर चौदण्डी नगरपालिका ६ का २३ वर्षिया विजय तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
दुर्घटनामा परि घाइते भएका ५० मध्ये २१ जना विभिन्न अस्पतालमा उपचाररत छन् । १३ जनाको धुलिखेल अस्पतालमा, ३ जनाको नर्भिक अस्पताल, १ जनाको ट्रमा सेन्टर, २ जनाको बनेपा स्थित शिर मेमोरीयल अस्पताल र २ जनाको मध्यपुर अस्पताल भक्तपुरमा उपचार भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मृत्यु हुने १८ जनामध्ये ९ जना महिला, ४ जना बालक, ३ जना बालिका र दुई जना पुरुष रहेको छन। शव आज आफन्तको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए। आइतबार दिउँसो दोलखाबाट काठमाडौँ जाँदै गरेको बा २ ब ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे स्थित सुनकोशी नदीमा खसेको थियो ।