ओलीले ५ वर्ष नै सरकार चलाउने,प्रचण्ड कार्यकारी अध्यक्ष



काठमाण्डाैं।मंसिर ४,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ ।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्कोले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

आजको बैठकले मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको थियो तर यससम्बन्धी कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने विषय भएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले छिट्टै निर्णय लिने विश्वास व्यक्त गरे ।