नक्कली चेक बनाएर बानेश्वरको जनता बैंकबाट ६ जनाले निकाले २० लाख



मंसिर११, काठमाडाैं । कहिलेकाहीँ तपाईं हाम्रो चेकमा हस्ताक्षर मिलेन भने बैंकका कर्मचारीले अर्को साइन गर्न लगाउँछन् वा मिलेन भन्दै फिर्ता पठाइदिन्छन्।तर केही दिनअघि केही युवाले खातावालाको हस्ताक्षरमात्र नक्कल गरेनन्। चेक नै नक्कली बनाएर झन्डै २० लाख रुपैयाँ बैंकबाट निकाले।

जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालिएको प्रहरीले जनाएको छ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले दिएको जानकारीअनुसार यी छ जनाबाट प्रहरीले १८ लाख रुपैयाँ बरामद गरेको छ।

उनीहरूले पटक पटक गरी खाताबाट पैसा निकालेका थिए।‘यसमा बैंकका कर्मचारीको पनि मिलेमतो हुन सक्छ,’ सुवेदीले भने ‘हामी अनुसन्धान गरिरहेका छौं।’घटनामा संलग्न भएको आशंका प्रहरीले काभ्रे पाँचखाल घर भई हाल कालिमाटी बस्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल बाग्लुङ गलकोटका बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोक साविक ज्यामिरे-९ घर भई हाल सुविधानगर बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरेको छ।उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको म्याद थपिएको एसएसपी सुवेदीले जानकारी दिए।