पोखरामा मतदान केन्द्र नजिकै बम बिस्फोट



मंसिर १४, काठमाडौँ । पोखरा–२ मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । प्रहरीका अनुसार पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा बम बिस्फोट भएको हो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।