भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छःअध्यक्ष प्रचण्ड



काठमाण्डौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘यस्ता खालका द्वन्द्व भविष्यमा नदोहोरियोस् भनेर पनि हामीले सत्यतथ्य छानबिन गर्नैपर्छ ।’

दुई आयोगसम्बन्धी ऐन संशोधनको तयारीमा रहेको र पदाधिकारी छिट्टै पठाउने तयारी भएको जानकारी दिँदै उहाँले सबै घटनामा आममाफी होस् भन्ने सोच नभएको दोहोर्याउनुभयो ।अध्यक्ष प्रचण्डले द्वन्द्वका घटनालाई आममाफी दिने प्रस्ताव आउँदा आफूले अन्तरिम संविधान निर्माणका क्रममा हुन्न भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग बनाउने प्रस्ताव गरेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘ममाथि पनि धेरै मुद्दाहरु छन् ती सबैको सत्यतथ्य होस् भन्ने चाहन्छु ।’

अध्यक्ष प्रचण्डले अहिले पार्टी एकता भइसकेको भए पनि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच द्वन्द्व नभएको र आपसमा लडाइँ पनि नभएको उल्लेख गर्दै पञ्चायत र राजतन्त्रविरुद्ध सँगै लडेको स्मरण गर्नुभयो ।