रामेछापको मन्थलीमा विश्व एड्स दिवस मनाइयो



रामेछाप । मंसिर १५,आज डिसेम्बर १ अर्थात ३२ औँ विश्व एड्स दिवस रामेछापको मन्थली नगरपालिकामा पनि चेतनामूलक र्याली तथा एड्स सम्बन्धी लेख वाचन कार्यक्रम गरी मनाईको छ । एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका ’ भन्ने मूल नाराका मन्थली नगरपालिकाले यो दिवस मनाएको हो । नेपाल सि.आर.एस कम्पनी दुर्गम क्षेत्र अभियान कार्यक्रम जिल्ला कार्यालय रामेछापको सहयोगमा मन्थली नगरपालिकाले आइतबार विहान देवकोटा चोकबाट र्यालीको आयोजना गरेको थियो । एचआइभी सम्बन्धी विभिन्न चेतनामूलक प्लेकार्ड सहितको र्याली मन्थली बजार परिक्रमा गरी मन्थली नगरपालिकाको सभाहलमा एड्स सम्बन्धी चेतना मूलक लेख वाचन कार्यक्रममा परिणत भएको थियो ।

मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली उच्चमाध्यामिक विद्यालय मनिका बुढाथोकी,विकास श्रेष्ठ , समिक्षा दाहाल र नागकन्या माध्यामिक विद्यालका तुलसा राणा मगर , मनिता माझी र सविना तामाङले एचआइभी एड्स के हो ? यसका लक्षण र एसबाट बच्ने उपाएका बारेमा चेतनामूलक लेख प्रस्तुत गरेका थिए । कार्यक्रममा एचआइभी एड्स सम्बन्धी लेख प्रस्तुत गर्ने छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले २०३० भित्र एड्सको महामारी अन्त्य गर्ने सरकारी लक्ष्य पुरा गर्ने गरी मन्थली नगरपालिका सरोकारवाला निकायसंग समन्वय गरी अगाडि बढ्ने बताएका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रका डा.सागर जर्गा मगर , नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ लगाएतले बोलेको कार्यक्रममा मन्थली नगरपालिकाभित्रका विभिन्न विद्यालयका, शिक्षक विद्यार्थी , स्वास्थ्यकर्मी र विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार विश्वमा करिव ३ करोड ५० लाख मानिस एचाआईभी एड्सको संक्रमणबाट पीडित छन् । नेपालमा एड्स सम्बन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ । रामेछाप जिल्लामा पनि आर्थिक बर्ष २०७५÷०७६ सम्म १३ जना एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापको तथ्याङकमा छ ।