बिमा रकम दिन अन्कनाइ गर्ने इन्सुरेन्स कम्पनीमा तालाबन्दी



दोलखा,२२ मंसिर।दोलखामा अस्तव्यस्त रूपमा खुलेका चरिकोटका बिमा कम्पनीले व्यक्तिको बिमा रकम फिर्ता गर्न अन्कनाइ गरिरहेका छन्।आइतबार दिउँसो सोही रकमको विषयलाई लिएर चरिकोट स्थित सगरमाथा इन्सुरेन्सले व्यवसायीहरुको बिमा बापतको रकम समयमा भुक्तानी नगरि सास्ती दिलाएको भन्दै व्यवसायीहरुले कार्यालयमा तालाबन्दी गरेका छन्।व्यवसायीको समस्याबारे पटक पटक ताकेता गर्दा पनि वास्ता नगरेको भन्दै उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघले इन्सुरेन्सको कार्यालयमा ताला बन्दी गरेका हुन् ।

उनिहरुले बिमा गर्दा प्रलोभन देखाएर गराउने तर बिमितलाई सेवा भने कहिल्यै नदिने भन्दै ताला लगाउन बाद्य भएको बताएका छन् । ताला लगाएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै दोलखा उद्योग वाणिज्य संघका महाँसचिब हेमराज रिमालले सगरमाथा इन्सुरेन्सबाट दोलखाका अधिकांस उद्योगी र निर्माण व्यवसायीहरु पिडित भएको बताएका छन् । उनका अनुसार भुकम्पमा भत्किएका चरिकोटका धेरै घरका धनीहरुलाई समेत इन्सुरेन्सले हदैसम्मको सास्ती दिलाएको छ।
घर घरमा आएर बिमा गराउने तर बिमितको बिमा अपडेट नगरिदिने क्लेम गरेको रकम समयमा भुक्तानी नगर्ने , बिमाको शुल्कपनि आफुखुसी लिने जस्ता दर्जनौं लापरबाहीका कारण ताला लगाउन बाद्य भएको निर्माण व्यवसायी संघ दोलखाका उपाध्यक्ष दावासांगे शेर्पाले गुनासो गरे । शेर्पाका अनुसार ९८ लाख बराबरको बिमा गरेर उत्पन्न समस्याका कारण काम बिग्रीएपछि क्लेम गर्दा त्यसको एक हिस्सा पनि मुल्यांकन नगरेर सगरमाथाले ठाठै ठगी धन्दा सञ्चालन गरेको आरोप लगाए।

उनले चरिकोटमा खासगरि निर्माण व्यवसाय र ठुला उपकरणको बिमामा इन्सुरेन्सले हदैसम्मको मनोपरि गरेको भन्दै बिमितको समस्या समाधान नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् ।यता सगरमाथा इन्सुरेन्स कम्पनीका क्लेम डिपार्टका प्रमुख सुवास दिक्षितले कार्यालयमा ताला लगाएर समस्याको समाधान नहुने भन्दै बसेरै छलफल गर्न अनुरोध गरेका छन् । दिक्षितले बिमा समितिले तोकेको मापदण्डका आधारमा आफुहरुले काम गर्ने बताउदै आबेगमा नआउन आन्दोलनरत पक्षलाई आग्रह गरेको बताए । दोलखामा उत्पन्न समस्या समाधानका लागि आफुहरुको टोली राजधानीबाट दोलखा हिडेको बताएका छन्।
उनले आबश्यक समन्वय गरेर समाधान गरेरै फर्किन आफ्नो टोली त्यस तर्फ लागेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस