पार्टी एकतामा आशंका नगर्न ओली र दाहालको आग्रह



काठमाडाैँ । नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले पार्टी एकतामा आशंका नगर्न आग्रह गरेको छ ।

नेकपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवस एवं लेनिन जयन्तीका अबसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निकै अगाडि बढिसकेको एकता प्रक्रिया पूरा गरेरै छोड्ने दृढता दोहो¥याएका हुन् ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले चुनावी सहकार्य गर्दा आत्तिएको तत्वले नै एकता हुँदैन भन्ने हौवा पिटिरहेको भन्दै एमाले–माओवादी पछाडि फर्कन नसक्ने अवस्थामा पुगेको बताउनु भयो । राष्ट्रनिर्माण र समृद्धिका लागि एकता अनिवार्य रहेकोमा जोड दिनुभएका ओलीले समानताकै आधारमा एकता हुने स्पष्ट पार्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले दायाँ–वायाँ गरे जनता र कार्यकर्ताले आफू र ओलीलाई नछोड्ने भन्दै एकता प्रक्रिया अन्तिम बिन्दुमा पुगेको दावी गर्नुभयो । दुई पार्टीबीच वैचारिक, सैद्धान्तिक, सांगठनिक र भावनात्मक एकताका लागि गरिएको मेहनत खेर जान नदिने प्रष्ट पार्नुभएका अध्यक्ष दाहालले बैशाख ९ गते एकता गर्ने निर्णय नभएको भन्दै चर्चा नभएको कुनै दिन एकीकृत पार्टी घोषणा गरिने बताउनु भयो ।

दुबै नेताले एकता विथोल्ने षड्यन्त्र भएपनि चर्चा गरिएजस्तो विमति नरहेको दावी गर्दै एकताको प्रारुपमा सहमति भइसकेको बताएका थिए । दुई दलले नेकपाको स्थापना दिवसको अबसरमा आज एकीकृत पार्टी घोषणा गर्ने बताउँदै आएका थिए । तर, ‘जनयुद्ध’ लाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र केन्द्रीय समितिमा प्रतिनिधित्वको अनुपातमा सहमति नजुट्दा एकता धकेलिएको हो ।