संविधान दोस्रो संशोधन विधेयक संसदबाट पारित, अद्यावधिक नक्सा निशान छापमै



 नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ संसदबाट पारित भएको छ ।नेपालको अद्यावधिक नक्सालाई निशान छापमा राख्न ल्याइएको संविधान संशोधन विधेयक शनिबार साँझ प्रतिनिधिसभाको अत्यधिक मतले पारित भएको हो ।संविधान संशोधन गर्न संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको दुईतिहाइ मत चाहिने भएपनि मतदानमा सहभागी २५८ सांसदहरु सबैले ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेको सभामुख अग्नि सापकोटाले बताए ।उक्त विधेयक दुईतिहाइभन्दा बढी मतले पारित भएको हो ।संसदमा २७५ सांसदहरु रहेपनि मतदानमा २५८ जनामात्र सहभागी भएका थिए । यसअघि, संशोधन प्रस्तावमा दफाबार छलफल गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले गरेको प्रस्ताव सर्वसम्मत् स्वीकृत भएपछि दफावार छलफल भएको थियो ।छलफलपछि मन्त्री तुम्बाहाङफेले दफावार छलफलमा भाग लिएका सांसदहरुप्रति आभार प्रकट गरेकी थिइन् । उनले सप्रमाणसहित भारतसँग वार्तामा सहभागी हुने बताएकी छन् ।यो विधेयक गत जेठ ९ गते दर्ता भएको थियो । जेठ २७ गतेको प्रतिनिधिसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित अतिक्रमण गरेको भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका थिए ।भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया दिनुहोस