शेयर कारोबार भएकै दिन सेटलमेन्ट,भोलिपल्टै शेयर बेच्न सकिने



काठमाडौं ।नेपाल धितोपत्र बोर्डले शेयर कारोबार भएकै दिन राफसाफ भई शेयर र रकम सम्बन्धित खाताहरुमा जम्मा हुने ब्यवस्था गर्न भनेपछि शेयर बजारमा नयाँ तरंग सिर्जना भएको छ ।धितोपत्र बोर्डले बैंक र हितग्राही खाता कारोबार प्रणालीमा ईन्टिग्रेट गरी कारोबार भएकै दिन शेयर र रकम हस्तान्तरणको सुनिश्चितता गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले नेप्से अनलाईन कारोबार प्रणालीले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा र खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमिशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउने भनेको छ ।

यसको मतलव कारोबार भएकै दिन स्वचालित प्रणालीबाट राफसाफ हुने र शेयर किन्ने लगानीकर्ताले भेलिपल्ट नै अघिल्लो दिन किनेको शेयर बेच्न सक्ने गरी तरलता उपलब्ध गराउने भन्ने नीति धितोपत्र बोेर्र्डले लिएको देखिन्छ ।धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना भन्नुहुन्छ- “पूर्ण अभोतिक कारोबार र सेटलमेन्ट हुने हो भने एकैदिनमा किन्नेले शेयर पाउने र बेच्नेले पैसा पाउने हुँदा हाम्रो शेयर बजार आधुनिक भएर जान्छ । लगानीकर्ताले अधिकतम लाभ पाउने छन् ।”

उहाका अनुसार आज किनेको शेयर भोलि नै बेच्न सकिन्छ, अहिले जस्तो तीन दिन कुर्नु पर्दैन । त्यसका लागि अनलाईन प्रणालीको प्रभावकारिता र सेटलमेन्ट क्षमता भने बढाउनुपर्ने हुन्छ ।विश्वमा यस्तो छिटो कारोबार र राफसाफ कहिँ पनि छैन भन्ने आलोचकहरु पनि देखिनसक्छ तर प्रविधिको जमानामा यसलाई संभव बनाएर हामीले लाभ लिनसक्ने पर्याप्त आधारहरु छन् ।

विश्वका कयौं शेयर बजारमा ईन्ट्रा डे कारोकार प्रचलनमा रहेको अवस्थामा नेपालमा आज किनेर भोलि शेयर बेच्न सकिने ब्यवस्था गर्नु एकदम सान्दर्भिक छ । यसले बजारलाई थप चलायमान बनाउने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस