उद्योग वाणिज्य संघ दोलखाले दियो एक वर्षको नवीकरण शुल्क छुट



दोलखा उद्योग वाणिज्य संघले कोरोना भाइरसले आर्थिक संकटमा गुज्रेका आफ्ना सयौं सदस्यलाई एक वर्षको सदस्यता नवीकरण शुल्कमा छुट दिएको छ।कोरोनाको महामारीले आर्थिक समस्याले अप्ठ्यारो परेको भन्दै आफ्ना सम्पूर्ण सदस्यहरुको चालू आर्थिक वर्षका लागि नवीकरण छुट गरेको छ।कोरोना भाइरस रोकथामका लागि सरकारले चैत ११ देखि ४ महिना लामो लकडाउन गर्दा व्यापार व्यवसायसमेत चल्न नसक्दा व्यवसायी अप्ठ्यारोमा परेको भन्दै नवीकरण छुट गरेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए।४ वटा उपसाखा रहेको दोलखा उद्योग वाणिज्य संघमा ८ सय ४७ सदस्य रहेका छन्।सदस्य नवीकरण वापत संघले हरेक सदस्यसँग वार्षिक रुपमा ५ सय रुपैयाँका दरले लिने गरेको थियो। सबैको छुट वापतको ४ लाख २३ हजार ५ सय बराबरको नवीकरण शुल्क  छुट गरेको उनले बताए। संघका सदस्यहरुको व्यवसायमा असर गरेको भन्दै संघकै पहलमा भीमेश्वर नगरपालिका सँगको समन्वयमा स्थानीय ब्यापारीलाई वार्षिक राजस्वको ५० प्रतिशत छुट समेत गराउन सफल भएको उनले दाबी गरे।

संघले व्यवसायीहरुको व्यवसाय पुर्नउत्थानका लागि राहत स्वरुप कस्ता कार्यक्रम ल्याउने भन्ने बारेमा छलफल भइरहेको उनले बताए।‘लकडाउन पूर्ण रुपमा अन्त भइसकेको छैन’ अध्यक्ष श्रेष्ठले भने ‘महामारीले अब लिने रुपमा सरकारले पनि केही स्पष्ट मार्गनिर्देशन ल्याउला त्यसकैका आधारमा हामीले पनि कार्यक्रम तय गर्ने योजनामा छौं।’लकडाउनका अवधीमा व्यवसायीहरुलाई ढुवानी सेवा सहज बनाउन संघले निरन्तर पहल गरेकोसमेत उनले बताए।आर्थिक वर्ष समापन पछि चालु वर्षभरि संघले गर्ने योजनाको समिक्षात्मक रुपमा प्रस्तुत गरेर सदस्यसामु लैजाने  संघका महासचिव हेमराज रिमालले बताए।दोलखामा करदाता सेवा कार्यालय नभएको र व्यवसायीलाई कर तिर्न धुलिखेल जानुपर्ने बाध्यता रहेकाले आफ्ना ब्यापारीलाई जिल्लामै  कर सेवा बिस्तारको लागी चरिकोटमै कार्यालय समेत खुल्न लागेको जानकारी दिए।साना व्यवसायी कर तिर्नका लागि पनि विगतमा भक्तपुर र धुलिखेल धाउँदा अनेक झन्झट व्यहोर्नु पर्दा विगतदेखि नै केही सेवा शुल्क लिएर कर चुक्ता गर्ने र प्रमाण पत्र लिन संघले समन्वय गर्दै आएकोमा अब कर कार्यालय नै आएपछि यो झन्झटको अन्त्य हुने उनले दाबीगरे।संघले निर्वाचन पश्चात सचिवालयको पुनर्निर्माण सम्पन्न गरी भाडामा रहेको संघको सचिवालय आफ्नै भवनमा सारेर सेवा प्रवाह गरिरहेको जनाएको छ।कोरोनाको कारण व्यवसायीहरुलाई पर्न गएको वित्तीय संकट टार्न र पुर्नकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गरी सहज बनाउन पहल गरिरहेको महासचिव हेमराज रिमालले बताए।संघले दिएको नवीकरण छुटले थोरै भए पनि राहत भएको मैनापोखरी बजारका सुनचाँदी व्यवसायी चक्र घतानीले बताए।


प्रतिक्रिया दिनुहोस