लकडाउन भित्रको यो सकस दोलखाका पत्रकार भण्डारीको अनुभव



तस्बिरमा:- पत्रकार गाेकर्ण प्रसाद भण्डारी

गोकर्ण प्रसाद भण्डारी,
दाेलखा।शहरका डेरामा जीवन जिएर आफ्नो पेसामा लाग्नु चानचुने हैन, कष्टपूर्ण जीवन जिइरहेका ती डेरावालाहरुलाई मात्रै थाहा हुने विषय हो यो सकसपूर्ण जिन्दगी । हुन त यो लकडाउन र महामारीले शहरका घरवालाहरुलाई पनि राम्रोसँग छोएको छ । यो बखत शहरमा बसेका डेरावाला हुन् वा घरवाला, धेरैले आफ्नो बाल्यकाल सम्झँदै पुराना फोटा हालेर सामाजिक सञ्जाल रङ्ग्याउने काम गरेर केही दिन पठाए, केहीले रचनात्मक सृजनालाई बाहिर ल्याएर आफ्नो समय कटाउँदै गरेको पनि पाइयो ।

अझ गाउँमा लकडाउनको प्रभावको कुरा गर्दा, उनीहरु आफ्नै खेती–किसानीको दैनिकीमा लागेको देखिइरह्यो । लकडाउनको अनुभव गर्दा शहरीया जीवनभन्दा गाउँले जीवन नै अति उत्तम देखियो । तर नेपालको सन्दर्भमा गाउँले जीवन निकै कष्टपूर्ण र दुःखदायी नै छ । गाउँमा सामान्य रुघाखोकी, ज्वरो आउँदा चेकजाँचको कुरा त परको विषय हो, सिटामोलसम्म पाइन्न । यो अवस्थाबाट पीडित छ हाम्रो गाउँघर ।

सामान्य ज्वरो आउँदा सदरमुकाम दौडने कि गाउँको केन्द्रतिरको स्वास्थ्य चौकीका कार्यालय सहयोगीले सञ्चालन गरेको मेडिकलतिर दौडने भन्ने विषयले नागरिकलाई पोलिरहन्छ । तर यो लकडाउनमा पनि खासै शहराँ दौडने सम्भावना पनि रहेन । त्यही गाउँको केन्द्रमा सञ्चालित मेडिकलबाट डेट सकिएको औषधि खानुको विकल्प गाउँघरमा बसेकाहरुको थिएन ।

वास्तवमा नागरिकले नै चुनेर बनाएका सक्ने जनप्रतिनिधि यति बेला कमाउने दाउमा छन् भने केही जनप्रतिनिधिलाई लकडाउन लागेको पाउन सकिन्छ । गाउँघरका मेडिकल, स्वास्थ्य संस्था र औषधिको कुरा मैले शुरुमा नै किन जोडिरहेको छु भने, गाउँघरमा स्वास्थ्य चौकीहरु या भनौं स्वास्थ्य संस्थाहरु व्यवस्थित नहुँदा गाउँघरका नागरिकले अत्यन्तै दुःख भोगिरहेका छन् ।

आजकाल शहरबाट छोराछोरी, आफन्त, छरछिमेकहरु कहिलेकाहीँ आए पनि गाउँघरमा सदाजसो वृद्धवृद्धा मात्रै बसोबास गरिरहेका हुन्छन् । छोराछोरी स्वदेश र विदेशमा रोजगारीको सिलसिलामा रहँदा त्यहाँको दुःखद दैनिकी त छँदै छ, अप्ठ्यारो पर्दा सबैले आफ्नो गाउँघर सम्झन्छन् भन्ने उदाहरण यो वर्ष फैलिएको महामारी कोरोना भाइरसको त्रासदीले नै प्रस्ट हुन्छ । गाउँघरका लागि यो अत्यन्तै सुन्दर पक्ष पनि हो । गाउँघरमा अहिले सबै जग्गा बाँझो रहेको पाइन्छ । सो बाँझो जमिन यो महामारीबाट चाहिँ जोतखन हुन्छ त ? आमनागरिकमा उठेको कौतुहलको प्रश्न थियो यो । केही हदसम्म त नागरिकले जोतखन गरेर बाँझो जमिन कम भयो होला तर पूरै जमिन जोतखन हुन सकेन ।

लकडाउनका केही भोगाइ :-

सरकारले लगाएको लकडाउनको शुरुका दिनबाट हामी समाजका केही थोरै जान्ने, सुन्ने, बुझ्नेका काँधमा निकै ठूला जिम्मेवारी आए । यिनै जिम्मेवारी कसरी पूरा ग¥यौं त हामीले ? मेरा केही भोगाइमध्ये यहाँ थोरै पस्कने प्रयास गर्छु । सरकारले पहिलोपटक लकडाउन गर्ने निर्णय गरेसँगै नागरिकहरु अप्ठ््यारोबाट जीवन गुजार्न बाध्य बनेको कुरा हामी कसैले लेखिरहनु नै पर्दैन । हाम्रो परिवार, आफन्त र हामीले भोगेको कुरा नै काफी छ ।लकडाउनले नागरिकमा महामारीको त्रास फैलाएको थियो नै, अझै पनि छ । विदेशबाट आफ्नो गाउँ आएका र आउन नपाएका नागरिकको विविध गुनासो अनि समस्या पनि यो अवधिमा नजिकबाट नियाल्ने प्रयास गरियो ।

खासगरी लकडाउन अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, हामी सञ्चारकर्मीहरुको जति सक्रियता थियो, नागरिकहरुले पनि मननयोग्य कार्य नै भनिरहेको आभास हामीले पाइरहेका थियौं । विशेष गरी अप्ठ्यारोमा परेका नागरिकहरुको उद्धार र उनीहरुको दैनिकीको बारेमा यिनै सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी तीन पक्ष र प्रशासनिक निकायलाई नै चिन्ता भएको देखियो । थोरबहुत मात्रामा जनप्रतिनिधिहरु आफ्ना नागरिकप्रति उत्तरदायी भएको पाउन सकिन्छ ।

खास गरी स्थानीय निकायहरुले जति जिम्मेवार र उत्तरदायित्व बहन गर्नुपर्ने हो, त्यो भने यो अवस्थामा नदेखिएको नै पाउन सकिन्छ । यसको उदाहरण यउटा नागरिक भारतदेखि हिँडेर नेपाल आउँदा उसको व्यवस्थापन कसरी गर्नेसम्मको भिजन दिन नसक्नु कमजोरी हो भन्ने लाग्छ । भारतमा ज्याला–मजदुरी गरी घरपरिवार सम्झँदै आफ्नो माटोमा मर्न भारतदेखि हिँडेर आएकालाई उचित व्यवस्थापन गर्न नसक्नु नेपालीको विडम्बना हो । उल्टै मिडियाले थाहा पाएछ, अब के गर्ने, बरबाद भयो, क्वारेन्टिनमा राख्ने कि नराख्ने भन्ने प्रश्न खेलाएर पन्छिन खोज्ने जनप्रतिनिधिहरुको हैसियत यस्तो कष्टकर समयमा मापन हुनुपर्ने हो भन्ने लाग्छ ।

लकडाउनले कम छोएको दोलखा:-
लकडाउनले दोलखाको विकास निर्माण कार्यलाई कमै असर ग¥यो । खासगरी लकडाउनले दोलखालाई कम असर गर्नुको पछाडि दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भूमिकालाई नकार्न सकिँदैन । पौडेलले खेलेको समन्वयकारी भूमिका र उहाँको व्यक्तिगत प्रशासन चलाउने क्षमताले पनि दोलखाका नागरिकले लकडाउनमा धेरै कष्ट व्यहोर्नुपरेन । नगन्य मात्रामा कोरोनाले नागरिकलाई भेटेको थियो । यहाँको हावापानी र जीवनशैली पनि कोरोनाका लागि चुनौती बन्यो होला भनेर हामीले व्याख्या गर्न सकिन्छ ।

नेपालमा रोगको पूर्ण नियन्त्रण हुन नपाउँदै र लकडाउनको पूर्ण अन्त्य हुन नपाउँदै यहाँ बाढी–पहिरोको चपेटाले पिरोलिरहेको छ । पहाडका जमिन पहिरोले खसाइरहेको छ भने कतिपय नागरिक यही पहिरोका कारण घरबारविहीन बनिरहेका छन् । तराई पनि बाढीको चपेटामा छ । त्यसैले नागरिकले दुःखको सास फेरिरहेका छन् ।

खास भन्ने नै हो भने, हाम्रो जस्तो अल्पविकसित देशका नागरिकले कहिल्यै खुशी हुने अवस्था आएन । नागरिकको स्तर वृद्धिका लागि नागरिकस्तरबाट जति प्रयास भइरहेका छन्, नेतृत्वस्तरबाट नागरिक तहले सोचेजस्तो सकारात्मक सोच नराख्दा विभिन्न खालका समस्या सृजित छन् । लकडाउन आधिकारिकरुपमा अन्त्य भएको छैन । महामारी पनि अन्त्य भएको छैन ।

तर गुम्सिएर अनि थलिएर बसेका नागरिक बिस्तारै उठ्दै छन् । समाज बिस्तारै उठ्दै छ । सोच पनि लकडाउनबाट बिस्तारै उठ्दै छ । सवारीसाधन पनि बिस्तारै आवतजावत भएर अगाडि बढ्दै छन् । त्यसैले जे भोगियो त्यो फेरि भोग्नु नपरोस्, जुन संकट आयो फेरि त्यही संकट नआओस् भन्दै भरोसाका साथ बाँचौं । हामी आफूलाई फेरि लकडाउनभन्दा अगाडिको दुनियाँमा लैजानेछौं भन्दै प्रण गरौं, सबैले सबैको सम्मान गरौं, सत्कर्म गरौं, सकारात्कम सोच राखौं, सबै चीज राम्रो हुनेछ ।


प्रतिक्रिया दिनुहोस