सिन्धुपाल्चोकमा २२ वटा एकीकृत बस्ती, सुरक्षाको प्रत्याभूति !



सिन्धुपाल्चोक । २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनःनिर्माण शुरू भएयता सिन्धुपाल्चोकमा २२ वटा एकीकृत बस्ती बसेको छ। निर्माणधिन सातवटा सहितका एकीकृत बस्ती सुरक्षित र सुविधामा सहज हुने आम विश्वासले निर्माण भएका हुन्‌।

निर्माण सम्पन्न भएका बस्तीकै अनुशरण गरेर अन्य स्थानमा पनि एकीकृत बस्ती विस्तार क्रम जिल्लामा बढ्दो छ। निरन्तरको प्राकृतिक विपत्तिले पनि नागरिकहरूमा सामुहिक तथा एकीकृत बस्ती मोह बढेको छ। भूकम्पपछिको पुनःनिर्माणको क्रममा निर्मित एकीकृत बस्ती सुरक्षित र सुविधासहितको भएको स्थानीयले बताएका छन्।

जिल्लामा भूकम्पपछिको पुनःनिर्माण शुरू भएयता एकीकृत बस्ती निर्माणको अभियान शुरू भएको थियो। जिल्लाभर राष्ट्रिय पुनस्निर्माण प्राधिकरणले १५ वटा एकीकृत र गैह्रसरकारी तथा निजी प्रयासबाट सात बस्ती निर्माण भइसकेको छ। मेलम्ची नगरपालिका–१२ गिरानचौरमा धुर्मुस सून्तली फाउण्डेसनले ६५ घर सहितको एकीकृत बस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेसँगै जिल्लामा एकीकृत बस्ती निर्माणमा लहर शुरू भएको हो।

एकीकृत बस्तीमा बाल उद्यान, सामुदायिक भवन, बिजुली, खानेपानी, सडक र स्वास्थ्य सेवा विस्तार गरिएको छ। जिल्लामा अन्य २१ एकीकृत बस्ती निर्माणमा पनि जागरुकता पैदा भएको छ। सिन्धुपाल्चोक जिल्लाका २२ वटा एकीकृत बस्तीमा एक हजार तीन सय २० घर परिवार बसोवास गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)को तथ्याङ्क छ।

हेलम्बु गाउँपालिकामा ५८ घर सहितको ह्योल्मो कला झल्कने बस्ती, ईद्रावती–५ भदौरे माझीमा ३९ घर, जुगल गाउँपालिका–१ मा १९ घर, भोटेकोशी ट्याङ्थलीमा २३ घर, मेलम्ची नगरपालिका–१२ मा थाक्ले एकीकृत बस्तीमा ३२ घर र तेम्वाथानमा ५८ घर सहितको एकीकृत बस्ती निर्माण गरिएको छ।

यसैगरी, मेलम्चीको जरायोटारमा ६७, सामुदायिक पर्यटन प्रवर्द्धनमा १६७, नाम्डोलिङमा ६७, माझी बस्तीमा ५३ घरसहित एकीकृत बस्ती निर्माण भएका छन्। भोटेकोशी गाउँपालिकाको ट्याङ्थलीमा ३१० घर निर्माण भएका छन्। ०७१ को जुरे पहिरोका विस्थापितलाई पनि एकीकृत बस्ती निर्माणको प्रयत्न भएको वलेफी–८ का अध्यक्ष चरीवहादुर तामाङ बताउँछन्।

जुरे पहिरो पीडितको नाममा संकलन भएको दुई करोड २४ लाख रुपैयाँ सरकारी खातामा रोकिएर बसेकोले एकीकृत बस्ती निर्माणको विषय अन्योलमा परेको तामाङको भनाई छ। ‘पहिरो पीडित र विस्थापितलाई वासस्थान आवश्यकता हो, हामीले सुरक्षित र एकीकृत आवास निर्माणको विषयमा लामो छलफल र तयारी समेत गरेका छौं।’ अध्यक्ष तामाङले भने।

‘हाम्रो भूगोल असहज र जोखिमयुक्त छ। सुरक्षित वसोवासकोलागि एकीकृत बस्ती नै उत्तम विकल्प ठानेर बस्ती निर्माण शुरू गरेका हौं,’ एकीकृत बस्तीका अभियन्ता बालकृष्ण देउजाले भने। जिल्लाभर निर्माण भएका बस्तीमा आवश्यकताअनुसार भौतिक पूर्वाधार थप्दै आएको जिल्ला कार्यान्वयन इकाईका कृष्ण ज्ञवाली बताउँछन्।

‘निर्माण सम्पन्न भई बसोवास शुरू भएका सबै बस्तीमा नाला र टेवा पर्खाललगायतका काम चालू आर्थिक वर्षमा पनि भैरहेको छ। बस्ती संरक्षण र भौतिक निर्माणका काम भएका छन्।’ जिल्ला कार्यान्वयन ईकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले भने।

‘सुरक्षा र सुविधा एकीकृत बस्तीका मुल फाइदा हुन्’, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ भन्छन्, ‘विस्थापित बस्तीका नागरिकको सुरक्षार्थ एकीकृत बस्ती निर्माण पुनः प्रारम्भ हुनेछ।’

विनाशकारी भूकम्पपछि सुरक्षित आवास निर्माणको वैकल्पिक रूपमा स्थापित एकीकृत बस्ती प्राकृतिक प्रकोपको जोखिम बढेसँगै यसको मोह पनि बढेको पाइएको छ। एकीकृत बस्ती पूर्वाधार विकासका हिसाबले असाध्यै उत्कृष्ट रहेको स्थानीयको अनुभव छ। प्राकृतिक विपत्तिपछि निर्माण शुरू भएको एकीकृत बस्ती यो वर्षको बाढी पहिरोको प्रकोपपछि पनि निर्माण शुरू हुन सक्ने संकेत देखिएको छ।

जुगल गाउँपालिका–२ लिदी पहिरो पीडितलाई सेलाङको बाँसखर्कमा अस्थायी ढंगले स्थानान्तरण गर्दै तीनै तहका सरकारका संयन्त्रले पीडित तथा विस्थापितका लागि एकीकृत आवास निर्माण तयारी थालेका हुन्‌।


प्रतिक्रिया दिनुहोस