बैतेश्वर जग्गा काण्ड : अपचलन भएको नेकपाको ठहर, संलग्न नेता र जनप्रतिनिधिलाई निलम्बित सहित कारबाहीको निर्णय



चरिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले बैतेश्वर गाउँपालिकाको जग्गा अपचलन भएको ठहर गर्दै त्यसमा संलग्न नेता तथा जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरी नेकपाले जग्गा अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको हो । जग्गा अपचलनबारे सत्यतथ्य छानविन गर्न उसले नेता भिम प्रसाद दाहालको नेतृत्वमा समिति बनाएको थियो ।

जग्गादाताहरुबाट व्यक्तिको नाममा रजिष्टेशन पारित गर्नु, ४३.९ रोपनी जग्गा मात्र गाउँपालिकाको नाममा आउनु र बाँकी जग्गा झण्डै ३ वर्षसम्म फिर्ता नहुनु, गाउँपालिकाको नाममा नगई व्यक्तिको नाममा रहनुले जग्गा अपचलन गरिएको पुष्टि भएको समितिको ठहर छ ।

जग्गादाता व्यक्तिहरुको जग्गा सिधै गाउँपालिकाको नाममा नगराई वालकुमार दाहाल र पदम बहादुर दाहालका नाममा रजिष्टेशन पारित गरिएको थियो ।

जनताबाट उनीहरुको नाममा पास गरिएको जग्गा ४३.३ रोपनी गाउँपालिकाको नाममा पास गरेर बाँकी जनप्रतिनिधिको जनप्रतिनिधिका श्रीमती र आफन्तहरुका नाममा रजिष्टेशन पास गरी लिनुलाई छानविन समितिले जग्गा अपचलनको आधार र प्रमाणको रुपमा प्रस्तुत गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलले दान गरिएको जग्गा घुमउरो तरिकाले अपचलन गरिएको पार्टीको निष्कर्ष रहेको त्यसमा संलग्न आफ्ना पार्टीका नेता तथा जनप्रतिनिधिलाई कारबाहीको निर्णय गरिएको बताए ।

गाउँपालिकाले नै गठन गरेको छानविन समितिले समेत १ हजार ९ वर्गमिटर जग्गा विक्री भएको स्वीकार गर्दै बाँकी जग्गा सोधभर्ना भएको जनाएको थियो । नेकपाले गठन गरेको ७ सदस्यीय छानविन समितिले तयार गरेको झण्डै डेढ सय पृष्ठ लामो छानविन प्रतिवेदन आज सार्वजानिक गरिएको हो ।

नेता र जनप्रतिनिधिलाई कारबाही
नेकपाले उक्त जग्गा काण्डमा मुछिएका आफ्ना दुई जना नेता र एक जना जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ । बैतेश्वर गाउँपालिका संगठन कमिटिका सदस्य पदम बहादुर दहाल, जिल्ला कमिटी सदस्य तथा बैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य र जिल्ला कमिटी सदस्य वालकुमार दाहाललाई कारबाही गर्ने निर्णय गरिएको हो ।

पदम बहादुर दहाललाई संगठित सदस्य तथा गाउँपालिका संगठन कमिटी सदस्यको पदबाट निलम्बन गरिसकिएको छ भने अन्य दुई जनालाई निलम्बन र कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

राजनीतिक नैतिकताका आधारमा गाउँपालिका वा सम्बन्धित व्यक्तिलाई जग्गा फिर्ता गर्न पनि नेकपाले तीनै जना व्यक्तिहरुलाई निर्देशन दिएको छ ।

बैतेश्वर गाउँपालिकाको स्थायी केन्द्रका लागि स्थानीय जनताले दान गरेको जग्गा अध्यक्ष छवि लामा, उपाध्यक्ष रविचन्द्र आचार्य, वडा अध्यक्ष सम्शेर घिसिङ, ३ नम्बर वडा अध्यक्ष कृष्णबहादुर दाहाल, २ नम्बर वडा अध्यक्ष श्यामसुन्दर तामाङ र १ नम्बर वडाका अध्यक्ष बृष बहादुर तामाङका आफन्त र श्रीमतीको नाममा रजिष्टेशन पास गरिएपछि त्यसको चौतर्फी विरोध भैरहेको छ ।                 नेकपा दाेलखाद्वारा प्रेषित प्रेस बक्तब्य:


प्रतिक्रिया दिनुहोस