ओलीले प्रचण्डलाई भने, ‘सँगै जान सकिएन अब अलग–अलग लागौं’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग–अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गर्नुभएको छ ।खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा अब अलग अलग हिँड्ने प्रस्ताव गर्नुभएको ब्रिफ्रिङ गर्नुभएको हो ।प्रधानमन्त्रीले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रस्ताव गर्नुभएको कुरा प्रचण्डले आजको बैठकमा आफूहरुलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न आफूहरु लागि परेका उहाँले बताउनुभयो ।आज बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो ।प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो सवा १ बजे बालुवाटारमा भेटवार्ता भएको थियो ।

यता नेकपाका महासचिव विष्णु पौडेलले पनि पार्टी फुटतर्फउन्मुख भएको संकेत गर्नुभएको छ ।

पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकिकृत अस्तित्व गम्भीर संकटमा परेको बताउनुभएको हो ।

केहीदिन अघि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आज दिउँसो सामाजिक सञ्जालमा एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस