प्रधानमन्त्रीले प्रचण्डलाई फेरि पनि फोन गरेर अलगै लागौँ भन्नुभोः नारायणकाजी श्रेष्ठ



काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट अर्का अध्यक्ष प्रचण्डलाई पार्टी फुटाउनका लागि बारम्बार धम्कीयुक्त प्रस्ताव आइरहेको बताउनुभएको छ।

बालुवाटारमा शनिबार भएको छलफलपछि पनि प्रधानमन्त्री ओलीले फोन गरेर प्रचण्डलाई पार्टी फुटाएर अलग–अलग हिँडौँ भनेर लगातार प्रस्ताव गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

पार्टीको निर्णय नमान्ने चेतावनी दिँदै ओलीले बहुमतको दम्भले कुनै निर्णय गरे त्यो भन्दा ठूलो एक्सन लिने भन्दै बारम्बार धम्कीयुक्त भाषामा चेतावनी दिइरहनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

ओलीले पार्टी फुटाएर अघि बढ्न लगातार गरेको प्रस्ताव प्रचण्डले भने अस्वीकार गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

तर यता ओली समूहका नेताहरुले भने प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउने तयारी अन्तिम चरणमा पु¥याइसकेको दाबी गर्दै दोष भने आफूहरुलाई दिएको बताउँदै आएका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बालुवाटारमा भएको छलफलको खुमलटार र भैसैँपाटी गएर काउण्टर रणनीति बनाउने चलखेल नरोकिए परिणाम दुःखद हुने चेतावनी दिनुभयो। प्रचण्डकै कारण अहिलेको अवस्था आएको उहाँको दाबी छ।

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैसेँपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताउनुभयो।

यस्तै प्रचण्ड गुट त्यागेर ओली गुटका छिरेका नेताले त प्रचण्डलाई बोलीको ठेगान नभएको नेताको संज्ञा समेत दिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहनुभएका नेता लेखराज भट्टले प्रचण्डको बोलीको कुनै ठेगान नभएको बताउनुभयो।

उहाँले छलफलका क्रममा दुई अध्यक्षबीच भएको सामान्य विवादलाई प्रचण्डले तीलको पहाड बनाएको दाबी पनि गर्नुभयो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी गठन भएयता नै पटक पटक फुटको संघारमा पुगिसकेको छ।

यसपटक त पार्टीका शीर्ष नेताहरुले नै पार्टी गम्भीर संकटमा भासिएको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेका छन्। विष्णु पौडेल, ईश्वर पोखरेल लगायत विवाद समाधानका लागि भूमिका खेल्न सक्ने नेताहरुले नै हार खाए जस्तो गरेर टिप्पणीहरु सार्वजनिक गरिरहँदा अब नेकपा सिंगो भएर उभिन सक्ने सम्भावना क्षिण बन्दै गइरहेको छ। तर नेता शोमप्रसाद पाण्डे नेकपा फुटीहाल्ने सम्भावना नरहेको दाबी गर्नुहुन्छ ।

फुटको संघारमा पुग्नु र नयाँ सहमतिका साथ फेरि एकतावद्ध भएको प्रचार गरिनु नेपाल कम्युनिष्ट पार्टीको नियमित कार्यतालिका जस्तै बन्दै गएको छ।

तर यसपटक महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल लगायतका नेताहरुले नै पार्टी फुटतर्फ अग्रसर भएको संकेत गरेपछि पनि तल्लो तहका कार्यकर्ताहरु पहिलेको जस्तो निराश देखिएका छैनन्।

बरु उनीहरुले पटक–पटक झगडा गरिरहनु भन्दा फुटेर आनन्द हुनुपर्ने आशय सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन्।

नेपाली नेटवर्क


प्रतिक्रिया दिनुहोस