तीन गाउँका थप  सात जनामा कोभिड संक्रमण



पछिल्लो समय दोलखामा दैनिक कोरोना संक्रमण देखिन थालेको छ।जिल्लामा अहिले सदरमुकाम चरिकोट हुँदै गाउँगाउँमा कोरोना भाइरस पुगेको पाइएको छ।जिल्लामा बिहिवार तीन गाउँका थप  सात जनामा कोभिड संक्रमण भएको पाइएको हो।जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार दोलखा अस्पताल आएकाहरुको पीसीआर परीक्षणका लागि पठाईएका ३१ मध्ये सात जनाको रिपोर्ट पोजेटिभ आएको हो।जसमा तामाकोशी गाउँपालिकाका पाँच  जना महिला ,विगु गाउँपालिकाका एक जना पुरुष र मेलुंग गाउँपालिकाका एक जना पुरुष रहेका छन्।यो सँगै जिल्लाको नौ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ भने जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कोभिड फोकल पर्सन बासुदेव अधिकारीले जानकारी दिए।जिल्लाको मेलुङ गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण भेटिएको हो।बिहिवार थपिएका सात संक्रमित सहरमा बसोबास गर्ने नभई गाउँमै बसोबास गर्ने नागरिक भएकाले गाउँसम्मै कोरोना फैलिएको पाइएको हो।गत सोमबार पनि भिमेश्वर नगरपालिका भित्रका समुदाय स्तरमा कोरोनाको संक्रमण भएको पाइएको थियो।१७ गते भीमेश्वर नगरपालिकाले लक्षण सहित बिरामी देखा परेपछि स्वाब संकलन गरी २५ जनाको पीसीआर टेष्ट गर्न धुलिखेल पठाउदा ग्रामीण भेगका ११ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो।भीमेश्वर नगरपालिका वडा नम्बर ४ र ७ का दुई,दुई जनामा ,वडा नम्बर ८ ,३, र ६ का एक –एक जनामा कोरोना संक्रमण भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खडकाले जानकारी दिए। त्यसैगरी संक्रमित हुने चार  जना सुरक्षा कर्मी रहेका थिए। दोलखाबाट स्वाब संकलन गरी पठाइएका व्यक्तिमा लक्षण देखा परेपछि टेष्ट गरीएको प्रमुख खडकाले बताए। लक्षण सहितको ५ वटा वडामा संक्रमण देखा पर्नुले दोलखामा समुदायमा संक्रमण भएको अनुमान गरिएकोमा बिहिवार पनि गाउँकै नागरिकमा संक्रमण भेटिएकाले जिल्लाका गाउँमै कोरोना फैलिएको पाइएको हो। दोलखामा पछिल्लो समयमा संक्रमण तिब्र रुपमा फैलिन थालेको छ। दशैँको अबधीमा एक सय भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।राजधानी काठमाडौ तिव्र गतिमा कोरोना संक्रमण भएको र दशैमा गाउँ गाँउमा राजधानीबाट मानिस ओहरदोहर गर्नाले पनि संक्रमण बढेको अनुमान गरिएको छ। दैनिकको कोरोना भाइरसका बिरामी फेला पर्न थालेपछि यता सदरमुकाम चरिकोटमा भने अघिल्लो दिनको तुलनामा चहलपहल र भिडभाड कमहुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस