तामाकाेसीले शेयरधनीहरूलाई निकट भविष्यमा लगानीको उचित प्रतिफल दिनेछ



काठमाडाैं । मुलुककै जलविद्युतको इतिहासमा सबैभन्दा ठूलो ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी स्वदेशी लगानीमा निर्माण सम्पन्न गरी समुद्घाटनको चरणमा ल्याउन सफलता प्राप्त भएको छ । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आजको यस क्षणमा आयोजनाका साथै हामी सबैको सपना पूरा हुनु आफैंमा गर्वको क्षण हो ।

२०६७ भदाै १७ गतेबाट मुख्य सिभिल निर्माण कार्यको सुरु भएको यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई २०७८ को बैशाख १६ गते मुख्य सुरुङमा पानी पठाएर परीक्षणको सुरुवात गरिएको थियाे । र, आजैबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफलता प्राप्त भएको छ ।

त्यसैगरी, यस आयोजनाले निर्माण गरेको ४७ किलाेमिटर लामो २२० केभी प्रसारण लाइन तथा नयाँ खिम्ती २२०/१३२ के भी सबस्टेसन निर्माणको कारण यस आयोजनावाट उत्पादित ४५६ मेगावाटको अतिरिक्त अन्य प्रवर्धकहरुवाट उत्पादित करीव २५० मेगावाट क्षमता तत्कालै जोड्न सकिने पुर्वाधार तयार भएको छ ।

नेपाल विद्युत प्राधिकरण (४१%), नेपाल टेलिकम (६%), नागरिक लगानी कोष (२%) र राष्ट्रिय बीमा संस्थान (२%) रहेका संस्थापक रहेको यस Special Purpose Project Vehicle (SPPV) कम्पनीमा सर्वसाधारणको १५%, दोलखा जिल्ला बासीको १०% शेयर रहेको छ भने बाँकी २४% शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूको रहेको छ ।

यस आयोजनाका लागि हालसम्म कर्मचारी सञ्चय कोषले रु. १४ अर्ब, नेपाल टेलिकमले रु. ८.४ अर्ब, नागरिक लगानी कोषले रु. २.८० अर्ब, राष्ट्रिय बीमा संस्थानले रु. २.८० अर्ब र अपुग रकम रु. १३ अर्ब ८ करोड नेपाल सरकारवाट ऋण लगानी तथा नेविल वैकबाट अल्पकालिन ऋण रु. २ अर्ब उपलब्ध भएको छ ।

वार्षिक २ अर्ब २८ करोड युनिट (अर्थात् २२८१ GWh) विद्युत उत्पादन हुने यस आयोजनाको विकाससँगै थप २० मेगावाट क्षमताको निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणपश्चात् यस आयोजनाका जेनरेटरहरुबाटै सुख्खायाममा करिब २२ करोड युनिट तथा २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप हुनेछ ।

आयोजनाको सुरु अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक ४४ कराेड १० लाख अमेरिकी डलर (USD 441 Million, ने.रु. ३५ अर्ब २९ करोड) रहेकोमा टनेलमा आएको डिजाइन परिवर्तन र २०७२ सालको महाभूकम्पका कारणबाट केही कार्यहरु थप हुन गएको छ । जसका आयोजनाको निर्माण अवधि लम्बिन गई प्रशासनिक र परामर्शदाताको खर्च बढ्न गएको, बजार मूल्य बढ्न जाँदा निर्माण कार्यहरूको लागत बढेको आदि कारणहरूले लागत ५९ कराेड अमेरिकी डलर (USD 590 Million, करिब ने.रु. ५२ अर्ब) पुग्ने अनुमान गरिएको छ ।

आयोजनाको निर्माण अवधि थप भएको कारणबाट सुरु लागतमा प्रक्षेपण गरिएको निर्माण अवधिको ब्याज रु. १४ अर्ब हुने आकलन गरिएको थियाे । तर, अवधि बढ्न जाँदा करिब रु. ३२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

सरकारबाट प्राप्त रु. १३ अर्बको सहुलित दरको ऋण, हालको वित्तीय संस्थाहरुवाट लिने ब्याज दरमा भइराखेको कटौतीका कारण आयोजनाबाट हुने व्यापारिक उत्पादनलगतै यस कम्पनीको वित्तीय अवस्थामा क्रमिकरूपमा सुधार हुने संकेत देखिएको छ । जसले गर्दा ७ लाखभन्दा बढी लगानीकर्ता रहेको यस कम्पनीका शेयरधनीहरूलाई निकट भविष्यमा लगानीको उचित प्रतिफल प्राप्त हुने आधार देखिन्छ ।

उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको यस आयोजनाको वित्तीय व्यवस्थापनको समयमा धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो । अन्तत: प्रतियुनिट ‌औसत रु. ४.०६ का दरले विद्युत खरिद बिक्री सम्पन्न भएबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको पनि वित्तीय अवस्थामा उल्लेख्य सुधारको अपेक्षा गरीएको छ ।

स्वदेशी लगानीमा निर्माण भएको यस प्रकारको बृहत आयोजनाको लागि सुरुवाति चरणबाट नै सहयोग गर्दै आएका सरकारका विभिन्न निकायहरू, प्राधिकरण, ऋणदाता संस्थाहरू (कर्मचारी सञ्चयकोष, नेपाल टेलिकम, बीमा संस्थान, नागरिक लगानी कोष), दोलखा जिल्लाका विभिन्न राजनैतिक पार्टीहरू, तामाकोसी सरोकार समिति, स्थानीय जनताहरूको सहयोग र सद्भाव रहेकाे छ ।

आयोजना कार्यन्वयनको सिलसिलामा समन्वय गर्ने स्थानीय प्रशासन, जनप्रतिनिधिहरू तथा जग्गा उपलब्ध गराउनुहुने जग्गाधनीहरू धन्यवादका पात्र छन् । कम्पनीमा विभिन्न कालखण्डमा निर्णय प्रक्रियामा संलग्न पूर्व तथा वर्तमान अध्यक्ष एवं सदस्यहरूकाे महत्त्वपूर्ण याेगदान रहेकाे छ ।

त्यसैगरी, आयोजनामा संलग्न एब आयोजनामा अहोरात्र खटेर कार्य गरेका परामर्शदाता (JV Norconsult-Laheyer in association with Total Management System), निर्माण व्यवसायीहरू (Sino Hydro Limited, Texmaco Rail & Engineering, Andritz Hydro, KEC International) तथा आयोजनाका पूर्व एवं वर्तमान कर्मचारीहरू पनि धन्यवादका पात्र छन् ।

अन्तमा, यस सुखद क्षणमा आयोजना अघि बढाउन सहयोगी भूमिकामा रहनुभएका दोलखाका अभियन्ताहरू स्व. भीमबहादुर तामाङ, स्व. पशुपति चौलागाइ, स्व. देवीप्रसाद न्यौपानेलाई पनि सम्झिन चाहन्छु ।

अप्पर तामाकाेसी हाइड्राे पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आयाेजना ७६ मेगावाटकाे पहिलाे युनिट उद्घाटनका क्रममा असार २१ गते साेमबार दिएकाे धन्यवाद मन्तव्यकाे सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस