नेपाली कामदारलाई दक्षिण कोरिया जाने बाटो खुल्यो



तस्वीर:-कालिञ्चोक अनलाईन

कोरिया – नेपालमा कोरोना महामारी सुरु भएसँगै दक्षिण कोरियाले रोकेको नेपाली कामदार लैजाने प्रक्रिया पुन सुचारु भएको छ । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजादै आएको छ ।

महामारीपछि उसले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिड बिमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखेको थियो ।

तीन सर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको हो । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार भर्ना गरेको छैन ।

कोरियाको सर्तलाई मन्त्रालयले स्वीकार गरिसकेको र १६ महिनादेखि रोकिएको कामदार लैजाने प्रक्रिया अब छिट्टै सुरु हुने श्रम सचिव सूर्यप्रसाद गौतमले बताए । नेपालले आफ्ना सर्त स्विकारेपछि कोरियाले पहिलो चरणमा प्रतिबद्ध कामदारलाई लैजाने तयारी गरेको छ । प्रतिबद्ध कामदार ३ हजार छन् । चार वर्ष कोरिया बसेर फर्केका कामदारलाई सोही रोजगारदाताले चाहेमा प्रतिबद्ध कामदारका रूपमा लैजान पाउँछन् ।

हाल कोरियामा ३० हजार नेपाली कार्यरत छन् । नेपाल र कोरियाबीच समझदारी भएपछि इपीएसमार्फत २००८ देखि कोरियाले अदक्ष कामदारका रूपमा नेपालीलाई लैजान थालेको हो ।


प्रतिक्रिया दिनुहोस