दोलखामा आयोजित हाइ अल्टिच्युड रिङ रेस्लिङ खेलमा चट्टान बने च्याम्पियन



दोलखा – पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् । प्रदेश खेलकुद विकास परिषद् वाग्मती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रूपमा पहिलोपटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन् । खेलसँगै जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेस्लिङको आयोजना गरिएको हो । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् ।

आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्टसहित उनले एक लाख ५० हजार रुपैयाँ हात पारे ।प्रतियोगिताको लाइट वेटतर्फको उपाधि सीजे वर्ल्डले जिते । उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।ट्याग टिमतर्फ थगु र एक्स–हिरो संयुक्त रूपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिति युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । उनले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस