नेपालमै पहिलो फोरके टिभी ग्यालेक्सी : ‘सिधा कुरादेखि को बन्छ करोडपति’ प्रसारण हुँदै



काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिले नेपालमै पहिलो फोरके टेलिभिजन ल्याएका छन् । सो कम्पनीले ग्यालेक्सी फोरके टेलिभिजन आगामी वैशाखबाट प्रसारण सुरुवात गर्ने गरी मंगलबार जानकारी दिएको छ ।टेलिभिजन प्रसारणसम्वन्धी जानकारी दिन आयोजित कार्यक्रममा सो कम्पनीका अध्यक्ष जीबी राईले सही सूचना, समाचार र स्वस्थ मनोरञ्जन प्रस्तुत गर्न टेलिभिजनको सुरुवात गरिएको जानकारी दिए ।

टेलिभिजनका प्र्रवन्ध निर्देशक रवि लामिछानेले जनताका आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्न टेलिभिजन ल्याइएको जानकारी दिए ।सबैभन्दा पृथक टेलिभिजन हुने दावी गर्दै कार्यक्रममा कम्पनीका उपाध्यक्ष छविराज बञ्जाडेले ग्यालेक्सी फोरके साझा प्लेटफर्म बन्ने दावी गरे ।

ग्यालेक्सीमा आकर्षक कार्यक्रमको ओइरो

नेपाली टेलिभिजन इतिहासमा प्रविधिमा मात्र पहिलो नभएर ग्यालेक्सी फोरकेले आमदर्शकलाई नयाँ स्वाद चखाउने भएको छ ।सबै खालका दर्शकलाई ध्यानमा राखेर समाचार र विचार मात्र नभई भरपूर मनोरञ्जन प्रदान गर्ने कार्यक्रमहरु प्रसारण गर्ने घोषणा गरेको छ ।

रवि लामिछानेका साथमा चर्चित वक्ता रमेश प्रसाई, नेपालका चर्चित वैज्ञानिक महावीर पुन, दिपकराज गिरीका साथै राजेश हमाल पनि ग्यालेक्सी फोरकेमा कार्यक्रमका साथ प्रसारणमा आउनेछन् ।

ग्यालेक्सी फोरकेमा चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा…’ का साथमा रवि लामिछाने स्वयम देखिने छन् । यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग प्रसारण गरेर चर्चित बनेका रविको कार्यक्रम सर्वाधिक रुचाइएका कार्यक्रम हुन् ।

त्यस्तै, रविकै नेतृत्वमा प्रसारणको तयारीमा रहेको कार्यक्रम द लिडर ग्यालेक्सी फोरकेमा देख्न सकिने छ । उनले तत्कालका लागि ‘कामका कुरा’ लिएर दर्शकसामु आउने भएका छन् ।

राजेश हमालका साथमा को बन्छ करोडपति यसै टेलिभिजनमा प्रसारण हुनेछन् । चर्चित हाँस्य अभिनेता दीपकराज गिरी ग्यालेक्सी फोरकेमा क्राइम पेट्रोल कार्यक्रमका साथ उपस्थित हुनेछन् ।वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य, चर्चित गायिका इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा कार्यक्रम सारेगमपका साथ टेलिभिजनको पर्दामा आउनेछन् ।

चर्चित वक्ता रमेश प्रसाई लाल मोहर नामक कार्यक्रमका साथ देखिने छन् भने वैज्ञानिक महावीर पुन आविष्कार नामक कार्यक्रममा हेर्न पाइने छ ।चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता विजयकुमार धेरै लामो समयदेखि टेलिभिजन पर्दामा छैनन । अब भने ग्यालेक्सी फोरकेमा कार्यक्रम ‘सम्बन्ध’का साथमा देखिने छन् ।

टेलिभजनमा रामायण पनि हेर्न सकिने छ । साथै कला, साहित्यसम्वन्धी कार्यक्रम फरइभर नवराज पराजुलीका साथमा हेर्न पाइने छ ।नेपालमा टेलिभिजन स्थापित गर्ने पहिलो व्यक्तित्व निर शाहले जनताको भाषा, जनताका लागि, जनताको पीडामा साथ र जनताको खुशीमा रमाउन सकिने टेलिभिजन ग्यालेक्सी फोरके बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चर्चिच हाँस्यअभिनेताहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभकामना दिएका थिए ।कार्यक्रममा सञ्चारकर्मी, उद्योगी, व्यवसायी, कलाकारहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस