पार्टीभित्र समानान्तर अभ्यासमा नेपाल समूह,कसलाई कहाँ–कहाँ तोकियो जिम्मेवारी ?



नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले राष्ट्रिय भेला गर्ने भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षका नेताहरूलाई जिम्मेवारीबाट हटाएपछि नेपाल पक्षले आगामी ४ गते राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो ।

यस्तै, नेपाल समूहले सातै प्रदेश र विभागमा इन्चार्ज तोकेको छ । काठमाडौंमा भएको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।

बैठकले प्रदेश –१ मा भीम आचार्य, प्रदेश –२ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोकेको हो ।

बैठकले विद्यार्थी विभाग इन्चार्जमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त, महिला विभागमा अष्ठलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागमा प्रवेश हमाललाई इन्चार्ज तोकेको जनाइएको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओली समूहले प्रदेश –१ मा सुवास नेम्वाङ, प्रदेश –२ मा सत्यनाराण मण्डल र बागमतीमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको थियो ।शुक्रबार एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । त्यसको विरोधमा आज नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको हो ।

 


प्रतिक्रिया दिनुहोस