लक्ष्यनजिक तामाकोशी



दोलखा ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नेपालको सबैभन्दा ठूलो निर्माणाधीन जलविद्युत् आयोजना हो । हिमाली जिल्ला दोलखाको उत्तरी दुर्गम क्षेत्र मानिएको बिगु एक लामाबगरमा आयोजना निर्माणका लागि स्वदेशी तथा विदेशी प्राविधिकले २०५७ सालदेखि आयोजनाको अध्ययन सुरु गरेका थिए । अध्ययनपछि नेपाल सरकारले वि.सं. २०६७ साल भदौ १७ गतेदेखि आयोजनाले मुख्य निर्माणको काम सुरु गरेको थियो ।आयोजना बन्छ कि बन्दैन भन्दै दुविधामा रहेका नेपालीलाई आयोजनाले निर्माण सुरु गरेर थप आशा जगाएको थियो । यस आयोजनाको निर्माण चरीकोटदेखि लामाबगरसम्म ६८ किलोमिटर प्रवेशमार्ग सडक निर्माण गरेर निर्माण सुरु गरिएको थियो । आयोजनाले सडकलगायतका संरचना निर्माण सुरु गरेपछि दुर्गम भेग लामाबगरका स्थानीयलाई विकासको अनुभूति पहिलोपटक देखाएको थियो । विस्तारै सिङ्गटीदेखि लामाबगरसम्म आयोजनाले सडक निर्माण गर्न सुरु ग¥यो । तामाकोशी आयोजनाले सडकको पहुँचमा पुगेका दोलखाका उत्तरी क्षेत्रका जनताले त्यसपछि विस्तारै विद्युत् समेत उपभोग गर्न पाए । तामाकोशीसँगै यहाँको उत्तरी क्षेत्रमा हाल दर्जनौँ सानाठूला जलविद्युत् आयोजना निर्माण भएका छन् ।

हाल तामाकोशी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७८ सालको पहिलो महिनाबाट नै आयोजनाले परीक्षण उत्पादन समेत थाल्नेछ । आयोजनाका अनुसार यही वर्षमा तामाकोशी पूर्णरुपमा सञ्चालनमा आउनेछ । सञ्चालनमा आएपछि लोडसेडिङ सधैँका लागि अन्त्य हुनेछ । यस्तै उद्योग धन्दाहरुले पनि पर्याप्त मात्रामा बिजुली खपत गरेर आर्थिक आर्जन गर्न पाउनेछन् । ४५६ मेगावाट क्षमताको यो आयोजनाबाट वार्षिक औसत दुई हजार २ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड वहावमा डिजाइन गरिएको यो आयोजनाको बाँध क्षेत्र मात्र एक हजार ७ सय ४५ वर्गमिटर छ । जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ ।

भूमिगत विद्युत्गृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । यस आयोजनाले नयाँ वर्ष २०७८ सालको वैशाखभित्र पहिलो परीक्षण गर्ने योजना बनाइरहँदा लगानीकर्ता तथा सेयरधनीमा छुट्टै खालको आशा जगाएको छ । नेपालको पूर्वी हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्र भीर टाकुरा र ठूला–ठूला पहाडको बीच हुँदै बग्ने तामाकोशी नदीको पानीबाट उत्पादन हुने जलविद्युत् आयोजनामा हजारौँले सेयर लगानी गरेका छन् ।

भूकम्प र कोरोना महामारीको असर, लागत बढेको बढ्यै, 

स्वदेशी लगानीमा निर्माणाधीन हालसम्मकै नेपालकै सबैभन्दा ठूलो आयोजना तामाकोशी निर्माण सुरु भएको एक दशक बितेको छ । आयोजना सुरु गर्दा ६ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्य तोकिएको थियो । तर भूकम्प, कोरोना महामारी, खाँडीचौर–चरीकोट सडकखण्ड निर्माणमा ढिलासुस्तीले तामाकोशी निर्माणको समय धकेलिँदै गयो । १२ वैशाख २०७२ मा आएको भूकम्पको कारण आयोजनाको काम झण्डै डेढ वर्षसम्म रोकिएको थियो । त्यसपछि फेरि निर्माण सुरु भएको आयोजनाले २०७६ चैतसम्ममा आयोजना सम्पन्न हुने लक्ष्य राखेको थियो ।

उक्त अवधिमा पनि आयोजना निर्माण हुनसकेन । त्यसमाथि कोभिड १९ को असरले आयोजना उत्पादन समय सर्दै सर्दै गएको हो । जसरी आयोजनाको निर्माण कार्य लम्बिँदै गयो, त्यसैगरी लागत पनि बढ्दै गयो । ७ चैत २०६५ मा माथिल्लो तामाकोशी आयोजनाको सञ्चालक समितिले निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोडसहित आयोजनाको लागत ४८ अर्ब ५१ करोड अनुमान गरेको थियोे । तोकिएको समयमा आयोजना बनेन । त्यसपछि विदेशी मुद्राको मूल्य अत्यधिक वृद्धि भएको र सेयर वृद्धि गरी थप सेयर संकलन गर्न नसकिने भन्दै आयोजना सम्पन्न गर्ने प्रक्षेपणका आधारमा लागत अनुमान ५१ अर्ब ९४ पु-याइयो ।

हाल कोरोनाको कारण लागत बढेको भन्दै आयोजनाको लागत ८२ अर्ब पुगिसकेको छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर छ । यस्तै सर्वसाधारणबाट १५ प्रतिशत र दोलखाबासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।

वैशाखभित्र परीक्षण :

 यस आयोजनाको काम आंशिकबाहेक सबै निर्माणसम्पन्न भएको छ । यो आयोजनाको कठिन मानिएका संरचनाअन्तर्गत तेर्सो पेनस्टक पाइप हाइप्रेसरमा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा अहिले आयोजना जुटेको छ । वेट टेस्ट भनिने यो परीक्षणमा आयोजनाले सबै सुरुङको ड्याममा पानी भरेर परीक्षण गर्ने तयारीमा लागेको हो । करिब १५ दिन लाग्ने सो परीक्षणपछि पहिलो टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर पहिलो युनिटबाट विद्युत् निकाल्ने आयोजनाले जनाएको छ ।

आयोजनाले वैशाखभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने गरी कार्य थालेको जनाएको छ । साथै आयोजनाले समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी काम गरिरहेकोले तोकिएको समयभन्दा आयोजना निर्माण केही ढिला हुनसक्ने प्राविधिकहरु बताउँछन् । विभिन्न राजनीतिक तथा सामाजिक अवरोध, भूकम्प, भारतीय नाकाबन्दीदेखि ठेकेदार कम्पनीको कमजोरी र कोरोना भाइरसले आयोजना पछाडि धकेलिएको आयोजनाले अबचाहिँ अन्तिम रुप दिनलागेको छ ।

निर्माणका क्रममा आएका अनपेक्षित भौगर्भिक समस्याले आयोजना निर्माणको गतिलाई ढिला बनाएको थियो । निर्माण सक्न १० वर्ष लागे पनि पछिल्लो पटक निर्माण गरिएका महत्वपूर्ण र कठिन धेरै संरचना परीक्षण सफल हुँदै गएकाले दोलखा आसपासका लगानीकर्तामा छुट्टै खालको आशा जगाएको छ ।

सबै दोलखालीलाई सेयर तर विवाद,

 आयोजना निर्माण सुरु भएपछि प्रत्येक नेपालीसँगै विशेषतः दोलखावासीको मनमा छुट्टै हर्ष र उल्लास थियो । आयोजनाले दोलखावासीलाई सुनको अण्डा दिने हल्ला समेत फिँजाइएको थियो । तर आयोजनाले दोलखाबासीलाई दिने सेयरमा समेत भेदभाव गरेको गुनासो सुनियो । आयोजनाले दोलखावासीलाई तीन वर्षमा विभाजन गरेर सेयर वितरण गरेको थियो ।

‘क’ वर्षमा परेकाले एक सय दुई कित्ता, ‘ख’ वर्षमा पर्नेले ४८ कित्ता र ‘ग’ वर्षमा पर्नेले ३४ कित्ता सेयर पाए । अन्य सर्वसाधारणले भने ४० कित्ता सेयर पाएका थिए । सर्वसाधारणलाई भन्दा दोलखावासीलाई आयोजनाले कम सेयर दिएपछि सेयर बाँडफाँटमा समेत विवाद भयो । आयोजनाले दोलखावासीलाई एक करोड पाँच लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । नेपाल धितोपत्र बोर्डको नियमावलीबमोजिम सेयर बाँडफाँट भएको मितिले ३ वर्ष सेयर बिक्री गर्न भने रोक लगाएको छ ।


प्रतिक्रिया दिनुहोस